सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन् ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (प्रताप)को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए ।
प्रचण्डले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको समेत टिप्पणी
उनले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने स्पष्ट पारे ।
प्रचण्डले भने, ‘हिजोआज पनि एउटा प्रश्न एसपीपी भन्ने हुँदैछ रे, सैनिक सम्झौता हुँदैछ रे भनेर भइसक्यो रे भनेजस्तो गरी प्रचार गरिएको छ । बिल्कुल झुटो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्री, गठबन्धनसँग भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुनेछैन यो घोषणा म यहाँबाट गर्न चाहन्छु ।’
प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गरे ।
‘प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर त्यो कमिटमेण्ट गर्नुभएको छ । कोही भ्रममा पर्न जरुरी छैन । बरु एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ,’ उनले भने,‘तर हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनताको पक्षमा, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।’














