भारतको सिक्किम राज्यमा सरकारले नेपाली सिनेमा ‘कबड्डी–४’ प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले मंगलबार फेसबुक पेजमार्फत सिनेमा प्रदर्शनमा रोक लगाएको जानकारी दिएका छन् ।
उनले सिनेमाकी अभिनेत्री र एक बौद्धभिक्षुबीचको विवाद समाधान नभएसम्म सिनेमा प्रदर्शनमा रोक लगाएको बताएका छन् । ‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै सरकारले विवादलाई स्वीकार्य रूपमा समाधान नभएसम्म सिक्किम राज्यमा कबड्डी–४ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले लेखेका छन् । १३ जेठदेखि प्रदर्शनमा आएको कबड्डी–४ शुक्रबारदेखि सिक्किम प्रदर्शन गर्ने तयारी थियो । बौद्ध धर्मको मानमर्दन गरेको भन्दै बौद्धधर्मावलम्बीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पनि उजुरी दिएका थिए ।
सुन्धारास्थित सिभिल मलको क्युएफएक्स हलमा सिनेमा हेर्न पुगेका बौद्धभिक्षु फुर्पा तामाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मिरुना मगरले थप्पड हानेकी थिइन् । उनले तामाङलाई प्रहरीसमक्ष बुझाएकी थिइन् । प्रहरीले तामाङलाई हिरासतमा राखेपछि उनी पक्षधर ‘रिहाई’को माग गर्दै विरोध प्रदर्शनमा उत्रेका थिए । फुर्पाले गल्ती भएको हुन सक्ने भन्दै माफी मागेपछि अभिनेत्री मगरले सहमतिपत्रमा हस्ताक्षर गर्दै विवाद समाधान भएको थियो ।














