पोखरा, पुस ९ । छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको तयारी सुरु भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुँदै आएको यस प्रतियोगिताको छैटौँ संस्करण माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
पर्यटनको राजधानी पोखराको प्रर्वद्धन र भ्रमण वर्ष २०२५ लाई केन्द्रमा राख्दै आयोजना हुन लागेको यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्षेत्रमै विशेष महत्व राख्ने अपेक्षा गरिएको छ ।
गत वर्ष १२ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा यस वर्ष भने ७ महिला तथा ७ पुरूष गरी कुल १४ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
महिला तर्फ थाइल्याण्डको दुई वटा क्लब र पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय एवं भारत गुजरातको टिमसहित कुल चार विदेशी टिमहरुको सहभागिताले यस पटकको प्रतिस्पर्धालाई थप रोचक बनाउने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार महिलातर्फको ७ टिममा नेपालको नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब रुपन्देहीसँगै युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र थाइल्याण्ड क्विन्सले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघसहित माल्दिभ्स भलिबल एशोसिएसन र भारतको गुजरात भलिबल क्लबको सहभागिता रहने उहाँले बताउनुभयो ।
छैटौँ संस्करणको च्याम्पियन हुने टोलीले समान रूपमा पुरस्कार राशि प्राप्त गर्नेछन् । जसअन्तर्गत विजेता हुने टोलीले ६ लाख ६६ हजार ६ सय ६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६ सय ६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु २६ हजार ६ सय ६६ प्रदान गरिने छ भने अन्य विद्यागत महिला तथा पुरुषतर्फ उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६ सय ६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
यस्तै प्रत्येक वर्ष आयोजना हुने यस प्रतियोगिताको पाँचौं संस्करणमा महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले नेपाल एपीएफ क्लबलाई रोमाञ्चक ३–२ को सेटले हराउँदै उपाधि जितेको थियो भने पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेश लाई ३–१ ले पराजित गर्दै उपाधि उचालेको थियो ।
विषेशगरी नेपाली भलिबललाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चसम्म र्पुयाउने लक्ष्यसहित स्थापित टाईगर ग्रुप अफ पोखरा आज खेलकुद क्षेत्रको एक विश्वासिलो ब्राण्ड बनेको छ।
पोखरालाई केन्द्र बनाएर सक्रिय यस क्लबले खेल, अनुशासन, युवा प्रतिभा र पर्यटनलाई एउटै सूत्रमा बाँध्दै आएको छ ।
पछिल्लो समय नेपाली भलिबलमा नयाँ ऊर्जा भर्ने, खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने र दर्शकलाई उच्चस्तरीय प्रतिस्पर्धाको स्वाद चखाउने काममा क्लब अग्रपङ्क्तिमा छ । जसकारण यो प्रतियोगिता नेपाली भलिबलको सबैभन्दा चर्चित, प्रतिष्ठित र प्रतीक्षित प्रतियोगिता बनेको छ ।













