सलमान खान, पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने, १७ नेपाली कलाकारले प्रस्तुती दिने

नगेन न्यूज
  • ख-
  • ख+

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएका छन् ।

१४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् ।

१२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए ।

पर्वतीय उडानमा सलमान खानले सगरमाथा क्षेत्रमा ब्रेकफास्ट गर्नेछन् ।

श्रेष्ठका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् ।

‘दवंग टुर नेपाल–रिलोडेड’ नामको सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरु शिव परियार, त्रिशाला गुरुङ, स्वप्न सुमन, सुनिता दुलाल, सुवानी मोक्तान, सुशान्त केसी, सन्जु मोक्तान, समिर श्रेष्ठ, प्रवेशकुमार श्रेष्ठ, तुना बेल थापा सहभागी हुने आयोजक ओडीसी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए ।

उनका अनुसार, कार्यक्रममा नृत्यतर्फ माला लिम्बु, मुना गौचनको प्रस्तुति रहने छ । दिउँसो १२ बजेदेखि खुला हुने रंगशालामा डिजेबाट सांगीतिक कार्यक्रमको सुरु हुनेछ । आयोजकले डिजेहरुमा रोहित शाक्य, प्रेम र रेडमससँग सम्झौता गरेको जनाएको छ ।

बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि सन् २०१८ तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो । यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकार नेपाल आउने भनिएको थियो । त्यतिबेला विवादका कारण उक्त कार्यक्रम रद्ध भएको थियो ।

नेपाल आउँदा भारतीय कलाकारले झण्डै १० करोड पारिश्रमिक लिने, सलमानको हिस्सा पाँच करोड

काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिक वापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् ।

सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी छ ।

दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन् । उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन् ।

उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।

उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला