
पोखरा,फागुन १५ । पर्यटकीय राजधानी भर्खर घोषणा भएको पोखरामा बिहीबार (आज )देखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै छ ।
बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ ।
‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले फेस्टिभलको उद्घाटन गर्नुहुनेछ । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ ।
उद्घाटन सत्रमा महेन्द्र पी लामाले सीमा, सम्बन्ध र साहित्यमा विद्वत प्रवचन दिनुहुनेछ । उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटीका प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुनुहुन्छ ।
त्यसपछि अनिल शाही र समूहले सांगीतिक प्रस्तुति राख्नेछन् । योसँगै उद्घाटन सत्रको समाप्त हुनेछ । देश–विदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकार लगायतको उपस्थिति रहने महोत्सवमा भूपी र अलिमियाँ कक्ष छन् ।
यी २ कक्षमा बेलुका ६ बजेसम्म साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि सेसन चल्नेछन् ।
विद्वत् प्रवचनलगत्तै भूपी कक्षमा ‘अलिअलि हार हो, अलिअलि जित’ शीर्षकमा अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ ।
दोस्रो संवादका रुपमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले भूपीको सम्झना गर्ने छन् । सोही समयमा अलिमियाँ कक्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग विजय तिमिल्सिनाले सञ्चार संवाद गर्ने छन् ।
भूपी कक्षमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पत्रकार भरत कोइराला ‘प्रदेशका पाइला’ शीर्षकमा कुरा गरिरहेको समयमा अलिमियाँ कक्षमा सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग सीता मादेम्बाले रैथाने ज्ञानको विज्ञानमा विमर्श गर्नुहुनेछ ।
पत्रकार निर्मला शर्मासँग गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीसँग राजनीतिका सुखदुख पोखिरहदा पत्रकार केशवशरण लामिछाने ‘त्यो पत्र, यो प्रेम र साहित्य’ विषयमा भावेश भुमरी, प्रणिता चाम्लिङसँग संवाद गर्ने तय छ ।
भूपी कक्षमा पहिलो दिनको अन्तिम सत्रका रुपमा ओमविक्रम विष्ट संवाद र सांगीतिक प्रस्तुत भइरहँदा अलिमियाँ कक्षकक्षमा मन्त्री विन्दुकुमार थापा, अधिवक्ता जुनाकुमारी गुरुङ र विष्णु सिञ्जालीसँग गौरी तमुले गण्डकीमा गुरुङ र मगर भाषाको अवस्था र भविष्यबारे संवाद गर्नुहुनेछ ।
महोत्सवको तेस्रो दिनमा महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण लोकार्पण पनि गर्नेछ । हमालको पुस्तक प्रकाशोन्मुख छ ।
फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुनेछ ।
नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा। भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् ।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका २ सत्रमा रहनेछ । उहाँको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उहाँले वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँनुहुन्छ ।
फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ ।
अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिनुभयो ।
महोत्सवका कार्यकारी निर्देशक निरज भारीले परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका संगीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउने जनाउनुभयो ।
विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।
कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी फेस्टिभलको मुख्य आकर्षण रहेको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिनुभयो । फेस्टिभलमा छुट लिएर स्टलबाट पुस्तक पनि खरिद गर्न सकिने छ ।
यसपटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले संवद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् ।