एमालेलाई बहुमत दिएपछि देशले यस्तो अवस्था भोग्नुपर्दैनः उपमहासचिव गुरुङ

नगेन न्यूज
  • ख-
  • ख+

एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको १२ औं साधारणसभा तथा छैटौं अधिवेशन
पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताउनुभएको छ ।
पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा एमालेलाई बहुमत नदिँदा यो परिणाम भोग्नुपरेको उल्लेख गर्नुभयो ।
माओवादी, माधव नेपाल, काँग्रेसको भ्रममा जनता परेकाले पनि यस्तो परिणाम आएको भन्दै उनले यिनीहरुबाट जनता मुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

०८४ कोे चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र त्यसपछि स्थायी सरकार गठन भई देशले गति लिने, विकास र समृद्धिको ढोका खुल्ने उहाँको भनाई छ ।
नेकपा एमाले जनताको अथक मेहनत, संघर्ष र समर्पणले बनेको पार्टी भएकाले पञ्चायत फाल्ने, निरंकुशतन्त्र ढाल्ने अगुवा पार्टी बनेको गुरुङको भनाई छ ।
आगामी चुनावमा बहुमत प्राप्त गर्न भातृ संगठनहरु, यस्ता मञ्चहरु, शुभेच्छुक संगठनहरु क्रियाशील हुनुपर्ने र अहिलेदेखि नै जागृत हुन पनि निर्देश गर्नुभयोे । तीज विशेष कार्यक्रममा महिलाहरुलाई सम्बोधन गर्दै उहाँले बच्चाहरुलाई मेहनत, संघर्ष गर्न सिकाउनुपर्ने नत्र, उनीहरुले दुःख पाउने बताउनुभयो ।

कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको गुरुङले बताउनुभयो ।
विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारीले राजनीतिक प्रतिद्वन्द्वी काँग्रेस रहेकाले काँग्रेसको पछि हिँड्ने अन्यबाट कुनै खतरा नरहेको बताउनुभयो ।
उहाँले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घलेले धादिङबाट कामको सिलसिलामा पोखरा आएर वा यहीँ नै स्थायी बसोबास गरेर पनि पार्टीको हितमा लागिरहँदा असाध्यै खुशी लागेको बताउनुभयो । उहाँले धादिङमा साढे ९ हजार संगठित सदस्य रहेकोमा बढाउने अभियानमा रहेको जनाउँदै २०८४ मा बहुमत प्राप्त गर्नको लागि पोखराका साथीहरू सबै लाग्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले पार्टी विस्तार र विकासका लागि धादिङबासीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको बताउनुभयो ।
जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, जिल्ला कमिटि धादिङका सदस्य बेनी पाठक लगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गर्नुभएको थियो ।
उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो ।
यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला