
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँले २३ मत पाउदा पियाले १४ मत पाउनुभएको थियो ।
अध्यक्ष पदमा विजयी भएपछि खड्काले यसअघि क्रिकेटमा उठाउँदै आएका परिवर्तनका प्रश्न अब आफैंमाथि आउने बताउदैं खेल छाडेपछि पदाधिकारीका रूपमा काम गर्ने सुरुवात भएको बताउनुभयो ।
१३ सदस्यीय कार्यसमितिमा पारससहित उहाँको टिमबाट १२ जना चयन भएका छन् ।
उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य, कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी हुनुभयो ।
सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल ‘अरुण’ र अनुजमान श्रेष्ठ निर्वाचित भए ।
नीरा राजोपाध्याय भने निर्विरोध निर्वाचित हुनुभयो ।
अध्यक्ष पारसले चार वटा जिल्लाको एउटा टिमले ३÷४ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको जनाउनुभयो ।
आफूले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै उहाँले दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभुति भएको र आगामी दिन कागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेको बताउनुभयो ।
निर्वाचनमा अध्यक्ष उम्मेदवारी घोषणा गर्नुभन्दा अगाडि अप्ठ्यारो अवस्थामा रहेको तर चार वटा जिल्लाको साथ पाएपछि आत्मबल बढेर निर्वाचनमा भाग लिएको जनाउनुभयो ।
असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।
पारसले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर केन्द्रीय अधिवेशनमा अगाडि बढ्ने बताउनुभयो ।