
काठमाडौं, ३२ साउन । नेपालमा पहिलो पटक ब्याडमिन्टन एसिया आयोजनाका रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।
ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवद्र्धन र प्रतिस्पर्धा गर्ने उद्देश्यअनुरूप एसिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गरेको हो ।
ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
नेपाल ब्याडमिन्टन संघले बिहीबार पत्रकार सम्मेलन अयोजना गर्दै ब्याडिमन्टन एसियाको डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत हुन लागेको प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।
उक्त प्रतियोगितामा यू –१५ र यू–१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।
संघले आयोजना गरेको प्रतियोगिता भदौ १ गतेदेखि ५ गतेसम्म हलचोकस्थित एपीएफ क्लबको कभर्डहलमा हुने च्याम्पियनसिपमा यू–१५ र यू–१७ मा गरी व्यक्तिगत र टिम स्पर्धा गरी कूल १२ इभेन्ट समावेश छ ।
यू–१५ इन्डिभिज्युअलमा गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।
यू–१७ तर्फ पनि इन्डिभिज्युअलमा गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, व्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धामा खेल हुनेछ ।
यू–१५ र यू–१७ दुवैमा टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्र नेपाल सहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा हरेक देशका ८–८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् ।
नेपाली टिममा १६ खेलाडी छन् ।
च्याम्पियनसिपमा गल्र्स र ब्वाइज दुवैतर्फ २६–२६ गरी कुल ५२ खेलाडी सहभागी हुने संघले जनाएको छ ।
नेपाल ब्याडमिन्टस संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यो च्याम्पियनसिप नेपालमा हुनु महत्वपूर्ण रहेको बताउनुभयो ।
श्रेष्ठले हाम्रो १६ जना युवा खेलाडीले एकै पटक खेल्ने अवसर पाउने बाहिर जानु परेको भए त्यति खेलाडी पठाउन गाह्रो हुने बताउनुभयो ।
उहाँले त्यसमा अन्य चार विभिन्न कार्यक्रम पनि हुने जानकारी दिदै ब्याडमिन्टन एसियालाई धन्यवाद व्यक्त गर्नुभयो ।
च्याम्पियनसपिपकै अवसरमा काठमाडौंमा साउथ एसिया लिडर डेभलपमेन्ट मिटिङ, साउथ एसिया वुमन इन ब्याडमिन्टन वर्कसप, साउथ एसिया रिजनल अम्पयार्स कोर्स र साउथ एसिया जुनियर ट्रेनिङ क्याम्प पनि आयोजना हुँदैछ ।
च्याम्पियनसिप तथा कार्यक्रम सञ्चालनका लागि ब्याडमिन्टन एसियाबाट सिनियर डेभपमेन्ट सिनियर म्यानेजरद्वय सामबेनथान शिवपेरुमल र थानाबालन अरिकृष्णन तथा इभेन्ट्स म्यानेजर एनजी येइन मुन नेपाल आइसकेका छन् ।
ब्याडमिन्टन एसिया डेभपमेन्ट कमिटिका प्रमुख वाजिद अलि चौधरी बिहीबार राति नेपाल आइपुग्ने संघका अध्यक्ष राजमी श्रेष्ठले जानकारी दिनुभयो ।