काठमाण्डौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागको आयोजनामा सोमबार ‘शिल्पकला शिक्षाको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं विश्वविद्यायका उपकुलपति प्रा.डा. भोला थापाले शिल्प शिक्षाको विषयमा अन्तरक्रिया गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षाले म इन्जिनियर भएँ तर साँच्चिकै इन्जिनियर हुन सकिन् ।’ उहाँले कला र इन्जिनियरिङलाई जोड्न जरुरी भएको बताउँदै उहाँले जति पनि सम्पदा छन् ती सबै इन्जिनियरिङ पनि भएको बताउनुभयो ।
थापाले कलाकारलाई प्राविधिक मात्र होइन्, सर्जक हुन पनि सिकाउनपर्ने धारणा राख्नुभयो । विश्वविद्यालय शिक्षामा प्रवेश गरेको व्यक्ति राम्रो व्यवस्थापक भएर जाओस् भन्ने आफ्नो चाहना भएको धारणा राख्दै उहाँले हाम्रा परम्परागत र रैथाने ज्ञानलाई पुस्तान्तरण गर्न जरुरी भएको बताउनुभयो । ‘अबको पुस्ताले भक्तपुर जस्तो सहर बनाउँछन् भन्ने मलाई लाग्दैन्’, उहाँले भन्नुभयो । उहाँले रैथाने ज्ञान र सीपलाई पाठ्यक्रममार्फत अध्ययन गर्नका लागि काठमाडौं विश्वविद्यालयको गरेको यस प्रयासलाई सबैले सहयोग गरिदिनु हुनेछ भन्ने आशा व्यक्त गर्दै काठमाडौं विश्वविद्यालयले स्नातक तहको क्राफ्ट एन्ड डिजाइनको अध्यापन सुरु गरेको बताउनुभयो ।
कुलपति नारदमणि हार्तम्छालीले शिल्पकलालाई सिर्जनासँग, शिक्षा र प्रविधिसँग तथा उद्यमशीलतासँग जोड्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले काठमाडौं विश्वविद्यालयले ‘क्राफ्ट एन्ड डिजाइन’ को विषयलाई निकै गृहकार्य गरेर ल्याएको आफूले पाएको बताउनुभयो । रैथाने ज्ञानलाई प्रविधिसँग जोडेर अघि लगे त्यसले सकारात्मक परिणाम दिने उहाँको जिकिर थियो ।
उपकुलपति लालकाजी लामाले रैथाने कलालाई अझ कसरी सम्मानित गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो । उहाँले पलायन कसरी रोक्न सकिन्छ ब्राण्ड बनाएर कसरी लान सकिन्छ भनेर अघि बढेमा यस क्षेत्रमा पृथक काम गर्न सकिने कुरा औंल्याउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले शिल्प शिक्षाका सम्बन्धमा स्थानीय निकायहरुसँग जोडिएर पाठ्यक्रम बनाउन सकेमा अझ महत्वपूर्ण कार्य हुने धारणा राख्नुभयो । उहाँले यसका लागि प्रतिष्ठानले सकेसम्मको सहयोग गर्ने बताउँदै त्यसमा सबै जोडिनुपर्ने बताउनुभयो ।
काठमाडौं विश्वविद्यालयका एसोसियट डिन सुजन चित्रकारले नेपालमा कला, साहित्य, संस्कृतिको क्षेत्रमा सरकारले धेरै सहयोग गर्न नसकेको बताउनुभयो । उहाँले काठमाडौं विश्वविद्यालयले अघि बढाएको ‘क्राफ्ट एन्ड डिजाइन’ विषय च्यालेन्जिङ भएता पनि नयाँ ठाउँमा नयाँ विषय ल्याउँदा कसरी हेरिन्छ भनेर हेर्न पनि खोजिएको जिकिर गर्नुभयो । ‘काम गर्दा असफल भइएला तर सिक्दै अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा शिल्पसम्बन्धी विधा परापूर्वकालदेखि नै भएको बताउँदै यसमा हाम्रो अध्ययनै नपुगेको बताउनुभयो ।
त्यस्तै, महासंघका उपाध्यक्ष नविन शाक्यले शिल्प शिक्षासम्बन्धी विषयलाई सबैले सहज रुपमा लिन सकुन् भनेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा एकरुपमा ल्याउन जरुरी भएको धारणा राख्दै विद्यालय तहबाटै यस विषयको शिक्षा अनिवार्य गरिनुपर्ने जरुरी रहेको जिकिर गर्नुभयो ।
ज्वेलरी स्कुल नेपालका अध्यक्ष मोहन विश्वकर्माले नेपाल संसारभरीबाट मौलिक कला संस्कृति हेर्न आउने खुल्ला विश्वविद्यालय भएको बताउँदै घर–घर, बस्ती–बस्तीमा यससम्बन्धी शिक्षा राखियो भने महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
रत्न आभुषण महासंघका सदस्य रुद्रबहादुर बराइलीले नेपाली शिल्पशिक्षालाई विगतदेखि नै सञ्चालन गरेको भए विदेश जानुपर्ने स्थिति नआउने बताउनुभयो । उहाँले नेपालको क्षेत्रफलमा कलाको ठूलो भाग रहेको धारणा राख्नुभयो ।
काठमाडौं विश्वविद्यालयका ‘क्राफ्ट एन्ड डिजाइन’ का संयोजक सागर मानन्धरले नेपाललाई कला र संस्कृतिको देश भनेता पनि कलाकार भेट्न नै गाह्रो पर्ने दिन आउन लागेको कुरा औंल्याउनुभयो ।
कलाकार माणिकमान शाक्यले रैथाने सीपलाई पुस्तान्तरण गर्न जरुरी भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी काम गर्छौँ, पैसा लिन्छौँ । तर काम गरेको प्रमाण हुँदैन् । शिल्प शिक्षाको काम अघि बढाइयो भने पुस्ता हस्तान्तरणको काम पनि अघि बढ्छ र कलाकारको पनि पहिचान हुन्छ ।’
कलाकार निलम ताम्राकारले आफ्नो विगतको अनुभव सुनाउँदै आफुले ७६ जिल्ला पुग्दा हरेक जिल्लामा थुप्रै कलाकार भेटेको बताउनुभयो । उहाँले ती कलाकारको सीपलाई उत्पादनसँग जोडेमा धेरै राम्रो हुने धारणा राख्नुभयो । प्राज्ञसभा सदस्य महेन्द्र सुनारले नेपालमा धेरै सीप भएको र त्यसलाई पनि अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । यसका लागि कलासँग सम्बन्धित क्षेत्र, पक्षसँग छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले क्राफ्ट एन्ड डिजाइनको विषय च्यालेन्जिङ पार्ट भएको बताउँदै सीप लोप हुनुको कारण आर्थिक पनि भएको धारणा राख्नुभयो ।
चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले यस क्षेत्रमा चुनौतीको पहाड भएको बताउँदै शिल्पकला दिनहुँ मर्दै गरेको दुस्खेसो बताउनुभयो । उहाँले यस क्षेत्रमा सरकारी पहलको खाँचो रहेको कुरा औंल्याउनुभयो ।
कार्यक्रममा प्राज्ञसभा सदस्य प्रदीप शाक्यले भन्नुभयो, ‘शिल्प भनेको विज्ञानसँगको सौन्दर्यको मिश्रण हो ।’ उहाँले सीप भएका कलाकार ओझेल नपरुन् र शिक्षित कलाकार पनि बढ्दै जाउन् भन्ने कामना गर्दै शिल्पकलाको शिक्षालाई दीगो विकाससँग जोड्न जरुरी भएको धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको सभाध्यक्ष रहेको उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । प्राज्ञ अरुणा हिङमाङ कार्यक्रम संयोजक रहेको यस कार्यक्रममा अतिथिहरुमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष नविन शाक्य, काठमाडौं विश्वविद्यालयका एसोसियट डिन सुजन चित्रकार, काठमाडौं विश्वविद्यालयका आर्ट एन्ड डिजाइनका विभागीय प्रमुख कीर्ति कौशल जोशी, काठमाडौं विश्वविद्यालय क्राफ्ट एन्ड डिजाइनका संयोजक सागर मानन्धर, काष्ठकला संघका सदस्य प्रथमराज बज्राचार्य, काठमाडौं स्कुल अफ इन्जिनियरिङका फ्याकल्टी तेजेशमान शाक्य, रत्न आभुषण महासंघका सदस्य रुद्रबहादुर बराइली, ज्वेलरी स्कुल नेपालका अध्यक्ष मोहन विश्वकर्मा, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका महासचिव सरोज दिलु, कलाकार निलम ताम्राकार, प्राज्ञसभा सदस्य प्रदीप शाक्य लगायतका अतिथिको रुपमा हुनुहुन्थ्यो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा प्राज्ञसभा सदस्य महेन्द्र सुनार, झिग्मे लामा, लालमान लामा लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।