नेपाली हस्तकलाको उत्पादन एवम् बजारीकरणको समस्या तथा चुनौती विषयक अन्तरक्रिया सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा ‘नेपाली हस्तकलाजन्य वस्तुको उत्पादन एवम् बजारीकरणको समस्या तथा चुनौती’ अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकला र ललितकलालाई पृथक ढंगले बुझ्नुपर्ने धारणा राख्दै प्रतिष्ठान स्थापना भएको १२ वर्ष नाघिसक्दा पनि कलाकारको सर्भे हुन नसकेको बताउनुभयो ।

हस्तकलाको विकासका लागि प्रचार प्रसार र प्रतिष्ठानका प्रकाशनमा हस्तकला विषय समावेश गर्न जरुरी रहेको उहाँको धारणा छ ।
उपकुलपति लालकाजी लामाले माथि उल्लेखित समस्या हस्तकलाको मात्र नभइ सबै कलाकारको साझा समस्या भएको बताउँदै यसको उत्थानका लागि सबै मिलेर संघर्ष गनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव थुम्केलीले नयाँ टिम आएपश्चात सरकारी निकाय, संघसंस्थासँग प्रतिष्ठानले नियमित छलफल गरिरहेको बताउनुभयो ।
उहाँले कला र कलासँग जोडिएका विषयलाई सहजीकरण गर्न आफूहरु सधै तयार रहेको धारणा राख्दै सरकारले राष्ट्रिय स्टार्टअप नीतिलाई अध्ययन गरेर समयमै आवश्यक पहल गर्नुपर्ने र यस पहलले नीतिगत समस्या तथा प्रवद्र्धनको क्षेत्रमा गाँठो परेका विषयलाई फुकाउन सहयोग मिल्ने बताउनुभयो ।

कार्यक्रममा हस्तकला महासंघका उपाध्यक्ष नवीन शाक्यले सरकारले मागेका बखत बेला बेलामा महासंघले सल्लाह सुझाव दिने गरेको उल्लेख गर्दै हस्तकलाले राष्ट्रको अर्थतन्त्रमा ठुलो सहयोग र्पुयाएको बताउनुभयो । उहाँले चुनौती धेरै छन् र सबभन्दा ठुलो चुनौती भनेको नीति मै रहेको र नीतिमै सबै विषयहरु समेटिनुपर्ने बताउदै हस्तकलाको क्षेत्रमा कच्चापदार्थको समस्या रहेको कुरा उल्लेख गर्नुभयो ।

शाक्यले हामीले सरकारलाई कर तिर्छौँ तर सरकारले हामीलाई सुविधा पनि दिन सक्दैन् कच्चापदार्थ सहजै पाइँदैन् र कच्चापदार्थको काम गर्न विदेशबाट ढुंगा ल्याउनुपर्छ, कति लाजको कुरा हो भन्दै प्रश्न गर्नुभयो । हाम्रा पुराना प्रविधि जोगाउनु पनि अहिलेको मुख्य चुनौती भएको उहाँको जिकिर थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य रुद्र ब. बराइलीले नेपाल विविध हस्तकलाको धनी भएको धारणा राख्नुभयो । उहाँले विश्वका धेरै देशलाई थाहा छ कि नेपाल एक कलात्मक मुलुक हो तर राज्यको ठुला पदमा बसेकाहरुले देशको उत्पादनप्रति गहिरिएर नसोचेकोले गुनासो व्यक्त गर्नुभयो । उहाँले ‘झण्डै ६० लाख युवाशक्ति विदेशमा पलायन भएका छन् । त्यसलाई उपयोग गर्न सकेमा के हुन्छ ?’ प्रश्न गर्नुभयो ।

अमर ह्यान्डीक्राफ्टका संयोजक अमर बहादुर विश्वकर्माले दक्षिण एसियामा प्रचुर सम्भावना भएको देशको रुपमा नेपाल चिनिएको भएता पनि हाम्रो देशमा बनेका कलाहरुको परिचय विदेशमा गएर लिनुपर्ने बिडम्बना रहेको बताउनुभयो । उहाँले, ‘तामा, पित्तल, सुन, चाँदी, फलाम । यी धातुलाई व्यवस्थित ढंगले चलाउन सक्ने हो भने र यसलाई राज्यले बोध गरिदिने हो भने पचासौं लाख युवालाई रोजगारी दिन सकिन्छ ।’ भन्नुभयो ।
उहाँले कालीगढ र उनीहरुको कामको रेकर्ड राज्यसँग नभएको बताउँदै उनीहरु यस क्षेत्रबाट पलायन भएर विदेश पुगेको विषय चिन्ता व्यक्त गर्नुभयो ।

सरोजदिलु विश्वकर्माले रैथाने कला र सीपको संरक्षणमा जोड दिनुभयो । उहाँले, ‘मैले मेरो बाउको पेसा छोड्न नहुने रहेछ । डिग्री पास गरेर मात्र नहुने रहेछ । सीप त अर्थतन्त्रसँग पो जोडिने रहेछ ।’ भन्नुभयो ।

विश्वकर्माले बिनायो, मुचुंगा, ठेकी अहिलेको पुस्ताले बिर्सिँदै गएको बताउँदै उनले प्लास्टिकका सामानको प्रयोग बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले रैथाने कला र सीपको प्रवद्र्धन र संरक्षणका लागि ग्लोबल नेटवर्क बनाउन सुझाव दिँदै विदेशी कालीगढ नेपालमा भित्रिरहँदा नेपाली कालीगढ भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गनुपर्ने धारणा राख्नुभयो ।

कलाकार श्याम बदन श्रेष्ठले नेपालमा सीप र ज्ञान दुवै भए पनि त्यसलाई अभिलेखीकरण गर्न नसकिएको बताउनुभयो ।
चन्द्रकला ज्वेलरीका रमेश सुनारले यस क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारी दिन ठुलो सहयोग र्पुयाइरहेको बताउनुभयो ।
प्राज्ञसभा सदस्य प्रदीप शाक्यले हस्तकलासँग सम्बन्धित विषयलाई फरक ढंगले हेर्नुपर्ने धारणा राख्दै कपिराइट, इन्टेसिभ तथा पोलिसीको बारेमा चर्चा गर्नुभयो ।

हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले अन्तरक्रियात्मक कार्यक्रमले मात्र समस्या समाधान नहुने बताउनुभयो । उहाँले, ‘भुइँचालो, कोभिड पछि हस्तकला व्यवसायी पलायन भएका छन् । अब बिस्तारै उकालो लाग्नुपर्छ । प्रतिष्ठानले पनि सरकारी स्तरमा आफुले गर्न सक्ने काममा पहल गर्नेछ ।’ भन्नुभयो ।
कार्यक्रमको सञ्चालन भने महिन्द्र सुनारले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला