टेवानको अध्यक्षमा कमला गिरी निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस १२ ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अध्यक्षमा कमला गिरी निर्वाचित भएकी छन् । संस्थाको पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले गिरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहेका छन् । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमिल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानून तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।
निर्वाचन समितिका संयोजक एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री लगायतले निर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै महिला शीप विकास संस्थाका प्रवन्धक रामकली खड्काले पछिल्ला समयमा महिलाहरू उद्यमशिलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताइन् । उनले सशक्तिकरणका लागि प्रत्येक महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पोखरा नेपालको पर्यटनको राजधानी मात्र नभै दक्षिण एशियाको नै उत्कृष्ट गन्तव्य रहेको बताए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको बताउँदै उनले यसले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने बताए ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले परिषद्ले हरेक पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

टेवानका अध्यक्ष रेनु थापा मगरले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास टेवानको प्राथमिकतामा रहेको बताइन्। ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, टेवानका संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष कमला गिरी, सचिव प्रभा सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पोखराको पर्यटन प्रवद्र्धन र विकास र सम्भावनाबारे चर्चा गरेका थिए ।

पत्रकार पौडेल र परियार सम्मानित

कार्यक्रममा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र कान्तिपुर राष्ट्रिय दैनिकका कास्की समाचारदाता दीपक परियारलाई सम्मान गरिएको छ ।

पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याए वापत उनीहरूलाई सम्मान गरिएको हो ।

पर्यटन व्यवसायी महिला संघ (टेवान) का अध्यक्ष रेनु थापा मगर, महिला सिप विकास संस्थाका प्रवन्धक रामकली खड्का लगायतले पौडेल र परियारलाई सम्मान गरेका हुन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला