ठूला जहाज आउजाउ गर्ने हो भने पोखरेली आकाशमा हुँदै आएको प्याराग्लाइडिङको भविष्य के होला ?

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा : पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुँदैछ। आउँदो अंग्रेजी नयाँ वर्षबाट जहाज सञ्चालन गर्ने तयारी विमानस्थल आयोजनाले गरेको छ। यसले पर्यटन व्यवसायीलाई खुसीसँगै चिन्ता पनि प्रकट भएको छ।

त्यो के भने ठूला जहाज आउजाउ गर्ने हो भने पोखरेली आकाशमा हुँदै आएको प्याराग्लाइडिङको भविष्य के होला ? नागरिक उड्डयन प्राधिकरणका अधिकारीले प्याराग्लाइडिङ स्थानान्तरण गर्नुपर्ने बताइरहँदा पर्यटनकर्मी भने पोखरामै त्यसको व्यवस्थापन गर्नुपर्ने पक्षमा छन्।

‘भर्खरै बिहे गरेर आएकी दुलहीलाई तैंले गहना लगाउन पाउँदिनस् भनेजस्तो भयो,’ पर्यटनकर्मी गणेशबहादुर भट्टराईले भने, ‘प्याराग्लाइडिङ भनेको त पोखराको गहना हो। विमानस्थल आउँदा भने पोखराको गहनै जान्छ कि जस्तो भयो।’ प्याराग्लाइडिङको भविष्यलाई लिएर नेपाल हवाई खेलकुद संस्था (ना)ले बुधबार अन्तक्र्रियाको चाँजो जुटाएको थियो।

त्यसैमा पर्यटनकर्मीले प्याराग्लाइडिङको भविष्यमाथि चिन्ता जाहेरमात्रै गरेनन्, पोखराबाट हटाउन नहुने मत जाहेर गरे। नाका नवनिर्वाचित महासचिव खेमराज आचार्यले प्याराग्लाइडिङकै कारण पर्यटक पोखरा आकर्षित हुने गरेको बताए।

‘यो प्याराग्लाइडिङसँग मात्रै सम्बन्धित विषय होइन, पोखरेली पर्यटनको सिंगो कुरा हो, होटल, रेस्टुराँ, ट्राभलसम्मलाई असर पुग्छ,’ उनले भने। पोखरामा ६२ प्याराग्लाइडिङ कम्पनी छन्। ५ सय पाइलटले प्याराग्लाइडिङ उडाउँछन्। फेवाताल उत्तरको सराङकोट डाँडाबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ। आचार्यले प्याराग्लाइडिङ व्यवसायमा १ अर्ब लगानी रहेको पनि जानकारी दिए।

सराङकोट प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट ५ गन्तव्यभित्र पर्छ। तालमाथिको हावाको प्रवाह उत्कृष्ट हुँदा नै इन्जिन बिनाको प्याराग्लाइडिङ उडान रोमाञ्चक हुने गरेको पर्यटनकर्मीको भनाइ छ। नाका पूर्वअध्यक्ष तथा प्याराग्लाइडिङका पाइलट योगेश भट्टराईले विदेशतिर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि प्याराग्लाइडिङ उडान हुने गरेको सुनाए। उनले भने, ‘स्विट्जरल्यान्ड गएर पनि हेर्‍यौं, त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्याराग्लाइडिङ उडान हुँदोरहेछ।’

पछिल्लो समय पोखराको पर्यटन चिनियाँ पर्यटकमा निर्भर रहेको र उनीहरूको पहिलो रोजाइ प्याराग्लाइडिङ भएको भट्टराईले बताए। जीपीएस र विमानस्थल टावरसँग सम्पर्क हुने यन्त्रसहित प्रविधि जडान गरी प्याराग्लाइडिङ उडान गराउनुपर्ने पूर्वअध्यक्ष भट्टराईको भनाइ छ। उनले निश्चित समय तोकेर निश्चित ठाउँमा मात्रै उडान गर्न दिने व्यवस्था हुनुपर्ने पनि बताए। नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङ उडान पोखरामा सञ्चालन गर्ने थुप्रै विकल्पबारे पहल भएको जानकारी गराए।

प्याराग्लाइडिङका पहिलो नेपाली पाइलट राजेश बम्जन सराङकोटबाट जस्तो उडान अन्त नहुने बताउँछन्। ‘सराङकोटको तोरीपानीमा जस्तो अनुकूल सदवहार मौसम अन्त छैन, अन्त त मौसमी उडानमात्रै सम्भव देखिन्छ,’ उनले भने।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ डा. धनञ्जय रेग्मीले पोखरामा प्याराग्लाइडिङ कायम राख्नुपर्ने बताए। ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ ल्याउनुपर्छ भने पनि ल्याऊँ, अध्ययन गरौं,’ उनले भने, ‘यसको उपयुक्त निकास खोज्नुपर्छ ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला