कोभिड महामारीका कारण बन्द भएको पर्वतको होमस्टे विस्तारै तङ्ग्रिन थाले

सुबी गुरुङ
  • ख-
  • ख+

कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै तङ्ग्रिन थालेको छ । कोभिका कारण विश्व नै आक्रान्त बनेसँगै पर्वतका गाउँमा रहेका होमस्टेहरु प्रभावित बनेका थिए ।

‘‘गाउँमा एक–अर्काको घर जानसमेत बन्द भएको अवस्थामा बाह्य पर्यटक आउने वातावरण बन्द भयो ।,’’ भुकताङ्ले होमस्टे व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष टेकबहादुर गुरुङले भन्नुभयो, ‘‘अब विस्तारै आउन सुरु गरेसँगै पुनः आशा जागेको छ ।’’

गुरुङ जातीको बाहुल्य रहेको भुकताङ्लेको भुक गाउँमा केही वर्ष पहिलादेखि होमस्टे सञ्चालन गरिएको थियो ।

‘‘हामीले सुरु गरेको केही वर्ष मात्रै भएको थियो’’ गुरुङले भन्नुभयो, ‘‘बाह्य पर्यटक आउन सुरु भएको । तर, कोभिडले बाह्य पर्यटक आउन नै बन्द भयो ।’’ भुकका २५ घरमा होमस्टे पूर्वाधार विकास गरेर सञ्चालनमा आएका छन् ।

राउण्ड अन्नपूर्णको पैदल मार्गसँगै जोडिएको भुकताङ्लेले बर्सेनि सयौं बाह्य पर्यटक आउने भए पनि बस्ने व्यवस्था नगर्दा फाइदा लिन सकेको थिएन ।

‘‘पर्याप्त पूर्वाधारको अभाव, गाउँमा होटल तथा होमस्टे सञ्चालन नभएका कारण हामीले कुनै फाइदा लिन सकेनौं,’’ गुरुङले भन्नुभयो ।

पछिल्ला केही वर्षदेखि स्थानीय युवाहरुको पहलमा पर्यटकीय गाउँ भुकलाई नमूना गाउँ बनाउन सुरु गरेसँगै होमस्टेका पूर्वाधार निर्माण गरिएको थियो । गाउँबाट बाहिर गएका र गाउँमा रहेका सबैको पहलमा गाउँलाई सुधार गरेर होमस्टे समेत सञ्चालन गरिएको थियो ।

बसाइसराँका कारण गाउँ नै खाली हुन थालेपछि स्थानीयहरुले नमुना गाउँ बनाउन विभिन्न पूर्वाधारको विकास थालेका हुन् ।

नमुना गाउँ टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन रामबहादुर गुरुङ्गले अनुसार रोजगारीका लागि गाउँबाट बाहिर रहेका स्थानीयले समेत आवश्यक पूर्वाधारको विकास र पर्यटक भित्र्याउन होमस्टेको अवधारण ल्याएको बताउनुभयो ।

भुक देउराली स्थायी घर भई हाल रोजगारीका सिलसिलामा देश भित्र र बाहिर रहेका युवाहरुले भुक देउराली युनाइटेड ग्रुप निमार्ण गरी गाउँमा विकासका काहरु अगाडि बढाएको उहाँको भनाइ छ ।

‘‘नमुना गाउँ र होमस्टेको पूर्वाधार एकै पटक र एउटै अवधारणा हो,’’ उहाँले भन्नुभयो, ‘‘सबै घरमा एकै प्रकारको रङ्ग, पाहुनाका लागि आवश्यक पर्ने कोठा, शौचालय, नुहाउने ठाउँ आदि व्यवस्थापन गरेका छौ ।’’

गाउँलेहरुले होमस्टेको माध्यमबाट आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तथा गाउँ छाडेर गएकालाई समेत गाउँ फर्काउने अभियान रहेको गुरुङ्ले बताउनुभयो ।

‘‘आफ्नै पहलमा गाउँलाई नमुना बनाउन सुरु गरेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘गाउँबाट जानेहरुलाई रोक्न र गाएकालाई फर्काउन यस्तो अभियान चालेका हौं ।’’

पदयात्रा मार्गको ख्याती कमाएको राउण्ड अन्नपूर्णको नजिकै रहेको र घोडेपानी, पुन हिल जाने बाटो समेत यहीबाट भएकाले आन्तरिक तथा बाह्य पर्यटक बढ्नेमा स्थानीयहरु आशावादी छन् ।

यससँगै नयाँ पदमार्गको रुपमा तयारी थालिएको नयाँपुल–भमरकोट–उल्लेरी हुँदै घोडेपानी पदमार्ग सञ्चानलनमा आएमा भुकमा पर्यटकहरु भित्रिने अध्यक्ष गुरुङले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला