पोखरा, १६ चैत । “विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान” का महाअभियन्ता प्राज्ञ नगेन सिंह ठकुरीले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि कास्कीका प्र.जि.अ. मार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापन पत्र बुझाउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयहरू उल्लेख गर्दै उहाँले नेपाललाई विश्वमै ललितकलाको केन्द्र बनाउन सकिने प्रस्ताव गर्नुभएको हो ।
विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले कास्की जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी -प्र.जि.अ.) रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
ज्ञापनपत्र बुझ्दै प्र.जि.अ. शर्माले प्राज्ञ नगेन सिंह ठकुरीले विश्वकै उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानमा काम राम्रो भएको विशेष गरेर कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन, उद्योग र अर्थतन्त्रमा महत्वपूर्ण योगदानहरू पुर्याउनुभएको छ यहाँको यो अभियानप्रति स्वागत गर्दै कलाकार सिँहलाई शुभकामना ब्यक्त गर्नुभयो ।
त्यस्तै उक्त कार्यक्रममा ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले नेपाल आँफै कला संस्कृतिको धनी देश भएको बताउदैं सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पुर्याउने बचन व्यक्त गर्नुभयो ।
ज्ञापन पत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नु पर्ने, विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनु पर्ने, नेपालका कलाकारहरुका कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सविधा उपलब्ध गराउनु पर्ने लगाएत मागहरु रहेका छन् ।
ललितकला विकासका लागि प्रस्तुत मुख्य मागहरू
पत्रमा नेपालको कला र वास्तुकलालाई विश्वभर चिनाउन कलाकार अरनिकोको जस्तै स्वर्ण युग ल्याउनुपर्नेमा जोड दिइएको छ । महाअभियानका तर्फबाट राखिएका प्रमुख ९ बुँदे मागहरू यस प्रकार छन्
नेपाल ललितकला विकास बोर्डको स्थापना गर्नुपर्ने
हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकला गुरु -शिक्षक) को व्यवस्था हुनुपर्ने
सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा एक कलाकृति राख्नुपर्ने र ललितकला पर्यटनलाई प्रोत्साहन दिनुपर्ने
विज्ञापन बोर्डमा कलाकारको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने
अन्तर्राष्ट्रिय स्तरको कला पुरस्कारको व्यवस्था र छुट्टै ललितकला विश्वविद्यालयको स्थापना गरिनुपर्ने
नेपाल प्रेस काउन्सिलबाट वर्गीकृत …क… श्रेणीका पत्रिकाहरूमा अनिवार्य एक पेज ललितकलाका लागि छुट्टयाउनुपर्ने
कलाकारका कलाकृतिहरूलाई बैंकमा धितो राखेर ऋण पाउने सुविधाको व्यवस्था हुनुपर्ने
नेपालको संविधानमा ललितकलालाई राज्यको एक अङ्गको रूपमा उल्लेख गर्नुपर्ने
महाअभियन्ता सिंहले सरकारले अगाडि सारेको १०० बुँदे कार्यसूचीले मुलुकमा सुशासन र समृद्धिको नयाँ आशा जगाएको बताउनुभएको छ । कलाकारहरूको विकासले देशको सांस्कृतिक पहिचान उच्च बनाउनुका साथै पर्यटन र अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने उहाँको विश्वास छ ।
पत्रको अन्तमा भनिएको छ, “आदरणीय प्रधानमन्त्री ज्यू, हजुरकै पालामा नेपालले विश्वमा ललितकला डायमण्ड युगको देश भई हाम्रा सन्ततिले गर्व गर्न सकून् ।”















