जनसिद्ध आधारभूत विद्यालयको स्वर्ण जयन्ती सुरू

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका–२३, हर्पनमा अवस्थित जनसिद्ध आधारभूत विद्यालयको स्वर्ण जयन्ती बुधबारदेखि औपचारिक रूपमा सुरू भएको छ ।

विद्यालयको ५०औँ वार्षिक उत्सवको उद्घाटन पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको छ ।
स्वर्ण जयन्तीको उद्घाटन गर्दै नगर उपप्रमुख गुरुङले समुन्नत समाज निर्माणको पहिलो आधार शिक्षा भएको बताउनुभयो ।

विद्यालयलाई स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पोखरा महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“विद्यार्थी काँचो माटो जस्तै हुन्। भौतिक विकासभन्दा असल मानवीय विकास आजको आवश्यकता हो। व्यावहारिक शिक्षाले शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यार्थीलाई सही मार्गदर्शन दिन मद्दत गर्छ।”

उद्घाटन समारोहका अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक स्व. चूडामणि पराजुली (वि.सं. २०३२/०९/०१ देखि २०३५/१०/२९), टंकप्रसाद पराजुली ( वि.सं. २०३५/१०/३० देखि २०५६/१०/१७) र शिरपति अधिकारी (वि.सं. २०५६/१०/१८ देखि २०७३/०१/०३)लाई सम्मान गरिएको थियो ।

यस्तै स्वर्ण जयन्तीको अवसरमा पाँच हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।

पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई आज बिहीबार सम्मान गरिने विद्यालयका प्रधानाध्यापक लेखबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा जीवन दाहाल, रामजी पौडेल, माया गुरुङ, मनोहरी दाहाललगायत कलाकारहरूको प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

सह–संयोजक लक्ष्मीप्रसाद पौडेलको स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लोककुमारी क्षेत्रीले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङ, शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाट, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, अन्नपूर्ण गाउँपालिका वडा नं. २ का वडा सदस्य भानुभक्त दाहाल, पूर्व प्रधानाध्यापक टंकप्रसाद पराजुली तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाबुराम पौडेललगायत वक्ताहरूले विद्यालयको इतिहास, विकास र शिक्षाका आयामबारे धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन स्वर्ण जयन्ती मूल समारोह समितिका सचिव भानु पराजुलीले गर्नुभएको थियो ।

यस विद्यालयको स्थापनादेखि हालसम्म करिब १० हजार विद्यार्थी दीक्षित भइसकेका छन् भने ८४ जना शिक्षक–शिक्षिकाले अध्यापन गराइसकेका छन् ।

विद्यालयका संस्थापक अध्यक्ष मेघनाथ पौडेलको सक्रियता तथा स्थानीयको श्रमदानमा वि.सं. २०३२ सालमा स्याउलाले बारेर विद्यालयको स्थापना गरिएको थियो । ६० को दशक सम्म ढिकुरपोखरी गाविस र भदौरे–तामागी गाविसका विद्यार्थीहरू यस विद्यालयमा अध्ययन गर्दथे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला