१६५ क्षेत्रमा ३ हजार ४ सय ८४ उम्मेदवार चुनावी प्रतिस्पर्धाको लागि होमियो

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारको चहलपहल तीव्र बनेको छ ।

प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रका लागि कुल ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको समयसीमाभित्र ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये २ हजार २ सय ९७ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् भने १ हजार १ सय ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारको संख्या यस पटक उल्लेख्य देखिएको आयोगले जनाएको छ ।

लैंगिक आधारमा हेर्दा ३ हजार ८८ जना पुरुष र ३ सय ९५ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महिला उम्मेदवारको सहभागिता अझै न्यून देखिए पनि विगतको तुलनामा केही सुधार आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका कागजात अनिवार्य गरेको थियो। आयोगका अनुसार सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

त्यस्तै आयोगको कार्यतालिका अनुसार बुधबार (आज) माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।
त्यसपछि आजै दिउँसो ३ बजेदेखि माघ ८ गते साँझ ५ बजेसम्म मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ ।

माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिनेछ ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरी ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला