पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालले संस्थाद्वारा स्थापित पत्रकारितासम्बन्धी विभिन्न पुरस्कार वितरणका लागि प्रतिभा चयन समिति गठन गरेको छ ।
संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
संस्थाका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा तीन सदस्यीय प्रतिभा चयन समिति गठन गरिएको हो । जसको सदस्यमा सञ्चारकर्मीद्वय दुर्गा अधिकारी र असफल गौतम हुनुहुन्छ । अधिकारी यसअघि सम्मानित प्रतिभा हुनुहुन्छ भने गौतम स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
संस्थाले सामाजिक पत्रकारिता पुरस्कार, स्वतन्त्र महिला पत्रकारिता पुरस्कार र युवा पत्रकारिता पुरस्कार गरी तीन वटा पुरस्कार सञ्चालन गर्दै आएको छ ।
समाजसेवी स्व. लीलाभक्त आचार्यद्वारा स्थापित ‘सामाजिक पत्रकारिता पुरस्कार’ पहिलो पटक अग्रज पत्रकार भैरव रिसाल (भक्तपुर) ले प्राप्त गर्नुभएको थियो ।
यसैगरी, भूपनिधि पन्त (लमजुङ) र मोहन भण्डारी (मोरङ) सम्मानित भइसकेका छन् । सो पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
पुरस्कारका लागि समाजसेवी आचार्यले ५ लाख १ रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको थियो । अक्षयकोषबाट प्राप्त व्याजबाट पुरस्कार सञ्चालन हुँदै आएको छ ।
यसैगरी, समाजसेवी सूर्यनाथ उपाध्याय बराल एवं तुलसीदेवी बरालको स्मृतिमा भाञ्जा कृष्णप्रसाद बास्तोला तथा छोरी भगवती बराल सिग्देलद्वारा स्थापित स्वतन्त्र महिला पत्रकारिता पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
उक्त पुरस्कारको लागि अग्रज पत्रकार बास्तोला र समाजसेवी भगवती बराल सिग्देलले संयुक्त रुपमा ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
सो पुरस्कारबाट यसअघि दुर्गा अधिकारी (कास्की), शीला गुरुङ (पर्वत), रविना आले मगर (तनहुँ), शान्ति राणा (कास्की), सीता दर्नाल (रुपन्देही), ईश्वरी पौडेल (स्याङ्जा), मनिता राई (सुनसरी), सविता तिवारी (नवलपुर) र डीलाकुमारी चौधरी (दाङ) सम्मानित भइसकेका छन् ।
यस्तै, स्वतन्त्र पत्रकार संघ कास्कीबाट गोर्खापत्र बाजे (चन्द्रकान्त पौडेल) स्मृतिमा स्थापित स्वतन्त्र एवं क्रियाशील युवा पत्रकारिता प्रोत्साहन पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।
सो पुरस्कारबाट नमस्कार शाह (बाँके) र नरेन्द्र ढकाल (झापा) सम्मानित भइसकेका छन् । केन्द्रबाट वितरण हुने उक्त पुरस्कारसहित लमजुङ शाखा र बाँके शाखाले पनि पत्रकारिता पुरस्कार प्रदान गर्दै आएका छन् ।













