बोलीको पक्का धमला ! प्रेस काउन्सिल पुगे आचारसंहिताको कक्षा लिन

नगेन न्यूज
  • ख-
  • ख+

सञ्चारकर्मी ऋषि धमलाले प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा विमानभित्र जबरजस्ती खुसेको भन्दै प्रेस काउन्सिल नेपालले चैत २२ गते २४ घण्टे स्पष्टीकरण माग गर्‍यो ।

धमलाले काउन्सिलले तोकेको समयमा नै लिखित स्पष्टीकरण पेस गरे । तर धमलाको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि काउन्सिलले उनलाई चैत २८ गते १२ बजेभित्र नै काउन्सिलमा उपस्थित भएर मौखिक जवाफ पेस गर्न लगायो ।

चैत २८ गते प्रेस काउन्सिल नेपालमा ऋषि धमला पुग्ने खबरसँग केही सञ्चारकर्मीहरू पनि काउन्सिल पुगेका थिए । डेढ घण्टा काउन्सिलको बैठक कक्षमा रहेका धमला त्यहाँबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्‍नको उत्तर दिँदै भनेका थिए ‘म त यो आचारसंहिताको बारेमा क्लास राखे पढ्न पनि तयार छु । यो अनिवार्य आवश्यकता छ ।’

धमला आफ्नो बोलीको पक्का रहेछन् भन्ने आज पुष्टि भएको छ । चैत २८ गते आचारसंहिताको बारेमा कक्षा राखे म पढ्न तयार छु भनेका धमला आज प्रेस काउन्सिलमा आचारसंहिताको कक्षा लिन पुगेका छन् ।

विभिन्न समयमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको हो ।

जहाजमा जबरजस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रूपमा लिई काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखीकरण कक्षामा सहभागी गराएको प्रेस काउन्सिल नेपाललले जनाएको छ ।

जहाजभित्र जबरजस्ती लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत अनुमति बिना पसी लाइभ गरेको विषयमा काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उनलाई शुक्रवार कक्षामा राख्ने र आइन्दा उल्लङ्घन नगर्न सचेत गराउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई पालना गर्दै धमला शुक्रवार कक्षा लिन दिउँसो १२ बजे काउन्सिल पुगेका थिए । काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घनकर्तालाई आवश्यकता अनुसार अभिमुखीकरण कक्षामा राख्ने नयाँ व्यवस्था थालनी गरेको हो । यस्तो खालको कक्षामा सहभागी धमला पहिलो पत्रकार हुन् ।

तर, नयाँ अनलाइनका सञ्चालक, सम्पादक र सञ्चारकर्मीलाई पनि आचारसंहिता कक्षा काउन्सिलले अनिवार्य गरेको छ । यही चैत १ गतेदेखि काउन्सिलले अनलाइन दर्ता गर्नु पूर्व सञ्चालक, पत्रकारहरूले अनिवार्य रूपमा आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको हो ।

त्यस्तो कक्षा लिएपछि मात्र काउन्सिलले अनलाइन सूचीकरण गर्न थालेको छ ।

शुक्रबारको कक्षामा धमलासँगै यस्ता सूचीकरण प्रक्रियामा रहेका सञ्चालक र पत्रकारहरूसमेत थिए । काउन्सिलले कक्षाका लागि विज्ञका रूपमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई बोलाएको थियो । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घका अध्यक्ष विपुल पोखरेलले समेत आचारसंहिताका विषयमा संक्षिप्त बोलेका थिए ।

त्यस क्रममा पत्रकार धमलाले प्रेस काउन्सिलको सक्रियता र नयाँ थालनीको प्रशंसा गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला