पुरानै ढर्राको कला प्रदर्शनी निरन्तरता

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा, २१ साउन । २०१२ सालमा चित्रकार गेहेन्द्रमान अमात्यले नेपाल–भारत सांस्कृतिक केन्द्रमा एकल कला प्रदर्शनी गर्दा नेपालमा कला बुझ्ने र प्रदर्शनी गर्ने माहोल त्यति बसिसकेको थिएन । पश्चिमा शैलीको सिर्जना नेपाल भित्रिसकेको अवस्थामा उनले तीनताक आफ्नै शैली र ढंगले कोरेका अमूर्त चित्र प्रदर्शन गरेका थिए । त्यतिखेर कला सिर्जना र साहित्यिक जगतका सर्जकको बाक्लो जमघट रहेको उनी सम्झन्छन् ।

चित्रकार अमात्यले प्रदर्शनी गरेको अहिले साढे ६ दशकभन्दा लामो समय भइसकेको छ । अहिलेसम्म पनि अमात्य चित्रकला सिर्जना र कलाका गतिविधिमा सहभागिता जनाइरहेका छन् । त्यतिबेला र अहिलेको समयमा कला प्रदर्शनी, कला सिर्जना तथा कलालाई बुझ्ने माहोल निकै बढेको छ । नेपालमा परम्परागत रूपमा चल्ने जात्रा, पर्व र मेलालाई छोडेर कला प्रदर्शनीको अभिलेखलाई हेर्दा चन्द्रमान सिंह मास्केले वि।सं।१९८६ तिर नै एकल कला प्रदर्शनी गरेको भन्ने पाइन्छ । त्यसपछि २०११ सालमा तेजबहादुर चित्रकार हुँदै अमात्यले कला प्रदर्शनी गरेका थिए । कला क्षेत्रका गतिविधि बढे पनि सिर्जना र प्रदर्शनी गर्ने शैलीमा कुनै तात्विक भिन्नता नदेखिएको कला क्षेत्रका सर्जक नै गुनासो गर्छन् । अमात्य भन्छन्,‘हामीले गर्ने र अहिले आएका अमूर्त चित्रमा खासै फरक लाग्दैन । सबै जना हामीले कोरेको बाटोमा नै हिँडिरहनु भएको छ ।’

ग्यालरीमा कला प्रदर्शनी गर्नु एक कलाकारका लागि दर्शकसामु आउने ठूलो अवसर हो । सिर्जना गरेको कलाकृति मार्फत नै कलाकारले स्वयंको विचारधारा, मुलुक, समाज, परिवार र व्यक्तिमाथि राख्ने उसको दृष्टिकोण तथा भाव कलामा अभिव्यक्त हुन्छन् । जुन कला असाध्यै निखारिएर प्रर्दशनीका लागि आउनुपर्ने कला लेखक एवं समीक्षक मुकेश मल्लको धारणा छ । उनले भने, ‘कला प्रदर्शनी पनि अहिले फेसन जस्तो भयो । जसले पनि प्रदर्शनी गर्ने लहड छ । किन र कसरी प्रदर्शनी गर्ने भन्ने चेत अहिलेको कलाकारमा देखिएन । कला सिर्जना प्रदर्शन गर्ने आर्ट ग्यालरी विज्ञापन गर्ने कला बेच्ने ठाउँ जस्तो मात्र बन्यो ।’ कला र कलाकार स्वयंको विकासका लागि नौलो शैली र चेतको निर्माण अझै भइनसकेको मल्लको बुझाइ छ । ‘आर्ट प्रदर्शनी र आर्ट ग्यालरी ठमेलमा राखिएको पसल जस्तो होइन नि । यसका लागि निरन्तर अभ्यास, अध्ययन र अनुशासन हुन जरुरी छ,’ उनले थपे ।

२०१९ सालमा एकल प्रदर्शनी गरेका थापाले सिर्जनाको पाटोमा हेर्दा अहिलेको माहोल पनि करिब उस्तै रहेको उनको भनाई छ । तीनताक लैनसिंह बाङ्देल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय जस्तै एकल प्रदर्शनी गर्ने थापा पनि एक थिए । समीक्षक मल्लका अनुसार यो समयलाई कला क्षेत्रमा निकै महत्त्वपूर्ण रूपमा लिइन्छ । यसै बेलादेखि नेपालमा कला प्रदर्शनी गर्ने लहड चलेको थियो । निजी स्तरबाट चलेका बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरी, ललितपुर चाकुपाटस्थित एम क्युब, क्लासिक, ठमेलस्थित मिथिला येन लगायत आर्ट ग्यालरीले पनि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गरिरहेका छन् । उपत्यकामै रहेका दर्जनभन्दा बढी आर्ट ग्यालरी उत्तिकै सक्रिय छन् । कोरोनाकालमा समेत ग्यालरीले भर्चुअल प्रदर्शनी गरेर निरन्तरता दिए । यद्यपि नयाँ र गुणात्मक सिर्जना न्यून रहेको स्वयं कलाकार, ग्यालरी सञ्चालक र क्युरेटर नै स्वीकार गर्छन् ।

अहिले भइरहेको कला प्रदर्शनी वृद्धि भइरहेको आर्ट ग्यालरीलाई सकारात्मक रूपमा लिनुपर्ने कलाकार तथा काठमाडौं विश्वविद्यालयमा सहायक डिन सुजन चित्रकारको तर्क छ । एउटा पुस्तक पाठकको हातमा पुगेपछि मात्र कस्तो छ भनेर थाहा पाएजस्तै प्रदर्शनीले कलाकृति कलाप्रेमीसमक्ष पुग्न सघाउ पुर्‍याउने उनको भनाइ छ । उनले भने,‘ग्यालरी र प्रदर्शनी संख्यात्मक रूपमा बढ्नु पनि कला क्षेत्रका लागि राम्रै हो । तर ग्यालरीसँगै दर्शक बढी हुने डबली प्रयोग गरेर पनि आर्टको स्पेस खोज्न सकिन्छ ।’ नेपालमा कला प्रदर्शनीका लागि कुनै पनि नीतिनियम, मापदण्ड र वर्गका रूपमा तह छुट्याइएको छैन । बाह्य मुलुकका कला प्रदर्शनी र यसको ओहदा नै उच्च रहेको मल्लको अनुभव छ । उनले भने,‘कला प्रदर्शनीका लागि उनीहरूसँग लामो अभ्यास, कला समीक्षकका लागि विशेष स्थान हुन्छ । हाम्रो जसलाई मन लाग्यो उसैलाई कला प्रदर्शन गर्ने होडबाजी नै छ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीमा समेत अग्रज र युवा पुस्ताका कलाकृतिका लागि स्थान छुट्याउने प्रचलन छैन । बग्रेल्ती कला छनोट समिति नै बनाएर गरिएको राष्ट्रिय प्रदर्शनीमा समेत त्रुटि हुनु अर्को विडम्बना छ । हप्तै वा महिनैपिच्छे प्रदर्शनी भइरहे पनि चन्द्रमानसिंह, तेजबहादुरलगायतका अग्रजका कलाकृति दर्शकले हेर्न पाउँदैनन् । प्रदर्शनीले नयाँ पुस्तासँगै अग्रजका कलाकृतिलाई पनि स्थान दिनुपर्ने प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीले बताइन् । ग्यालरीले चित्र बिक्रीसँगै प्रदर्शनी र सिर्जनाको गुणस्तरलाई ध्यान दिनुपर्ने उनको राय छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला