पोखरामा चित्रकला ओझेलमा, कलाकृतिको उत्पादन छ तर व्यवस्थान छैन

ज्योती हमाल
  • ख-
  • ख+

ज्योती हमाल
पोखरा ।

पोखरा उपत्यका वा महानगरको प्राकृतिक र सांस्कृतिक सौन्दर्य मुलुक र विश्वका हरेक गतिविधिलाई कलामा देखाउन चित्रकारहरु अग्रसर हुँदाहुँदै पनि पोखरा अझ भनौ गण्डकी प्रदेशमा नै चित्रकला विधा ओझेलमा परेको हो भन्ने ठान्छन् पोखरेली कलाकारहरु ।
गएको स्थानिय चुनावमा ‘स्मार्ट सिटी’को प्रचार व्यापकरुपले भएको थियो तर लक्ष्य कत्तिको पुरा भयो हजुर हामी सबैलाई थाहा नै छ ।
अब कुरा गरौं चित्रकार÷कलाकारको, पोखरा क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगर हो । त्यस्तै कलाकारिताका हिसाबमा भने काठमाडौं पछिको दोस्रो क्रियाशील शहर पनि हो । काठमाडौं पछि कला र कलाकारको जम्बो उपस्थिति पोखरामा छ भन्दा पनि हुन्छ ।
देश कै ठुलो महानगरमा एउटा र्आट ग्यालरी पनि छैन भन्दा पनि हुने स्थिती छ । त्यसो त कलाकारले कहिले पार्टि प्यालेस कहिले अन्य विभिन्न ठाँउमा चित्रकला गतिबिधि गर्ने गरेका पनि छन् ।
फोटो, चित्र प्रदर्शन गर्न पोखरा, महेन्द्रपुलस्थित साँघुरो क्षेत्र र पार्कीङको पनि सुबिधा नभएको ठाँउमा रहेको आर्ट ग्यालरी थियो जस्तै भएको छ । तर, त्यो पनि त्यहाँबाट अन्यत्रै खुला ठाउँमा सार्ने महानगरले निर्णय गरेको करिब तीन वर्ष बित्न लाग्दासमेत योजना कागजमै थन्किएको छ ।
महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी त्यँहा पनि पानी चुहिएर त्यस्तै छ र कतिबेला भत्कीने हो भन्नेपनि थाहा छैन ।
पोखराको व्यस्त बजार क्षेत्र महेन्द्रपुलको ‘पोखरा आर्ट ग्यालरी’मा कुनै बेला खुबै चहलपहल हुन्थ्यो । पोखरामा हुने गरेका चित्रकला तथा फोटो प्रदर्शनी त्यहि हुने गरेका थिए । तर अहिले बेवारिसे जस्तै बनेको छ ।

कला, साहित्य र संस्कृतिको सम्मान विना पनि एउटा सहर पूर्ण नहुने हुदाँहुदैँ पनि एउटा सहर पूर्ण रुपमा ‘सहर’ बन्न ग्यालरी, पुस्तकालय र संग्रहालय पनि अनिवार्य हुनुपर्ने पोखरेली कलाकारहरुको मत रहिआएको छ ।
पोखरा पानी रङको पाठशाला भने पनि तर यो पहिचानलाई कसरी जोगाउने भन्ने चिन्ता कलाकारमा रहेको छ ।
पोखरा र सेरोफेरोका ग्रामीण बस्ती, हिमाल तथा पहाड आदिलाई पानी रङको प्रयोग गरी दुरुस्त उतार्ने पोखरेली कलाकारहरु अहिले आफ्नो प्रदशनी केन्द्र आर्ट ग्यालरी भत्कन लागेको चिन्ता सँगसँगै पानी रङको सहरका रुपमा आफ्नो छुट्टै पहिचान बनाए पनि भविष्यमा यसको निरन्तरता कसरी गर्ने भन्ने विषय अहिले चिन्ता र चासो बनिरहेको समयमा प्रदशनी गर्ने स्थल नहुदाँ पनि पोखरेली कलाकारहरु चिन्तित छन् ।
पोखरा महानगर पर्यटकिय रुपमै धनि भएपनि पर्यटकको लागी एक गन्तव्य आर्ट ग्यालरी पनि छैन भने अर्कोतिर कलाकार, चित्रकारले आफ्नो कला प्रदर्शन गर्ने एउटा ग्यालरी समेतको अभाव छ ।
पोखरा महानगरको २०७५ चैत १ गते बसेको कार्यपालिका बैठकले महेन्द्र पुलबाट ग्यालरी सार्ने र त्यहाँ पार्किङ स्थल बनाउने निर्णय गरेको थियो । तर फोटो, चित्र प्रदर्शन भइरहने गरी तोकिएको एकमात्र ग्यालरी पोखरा महानगरकै अपरिपक्क निर्णयकै कारण सुनसान त बन्यो साथै कलाकारले आफ्नो कला प्रदशनी गर्ने ठाँउको समेत अभाव भएको छ ।
महानगरको २८ औं कार्यपालिका बैठकले ‘महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय अन्यत्रै सार्ने’ निर्णय गर्दा कलाकारसमेत खुसी भएका थिए । तर त्यसको व्यवहारिक कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन ।
साँघुरो, अत्यन्तै भिडभाड, होहल्ला पनि भइरहने, पार्किङ पनि नभएको र अपायक भएको उक्त ठाउँबाट गण्डकी प्रदेश संग्रहालयको खुल्ला ठाउँमा ग्यालरी र पुस्तकालय सार्ने निर्णयले कलाकार दंग थिए । तर अहिले सम्म पनि कलाकारले ग्यालरी पाएका छैनन् । निर्णय गरेको लामो समयसम्म ग्यालरी नबन्दा निराश छन् पोखरेली कलाकारहरु ।
२०५६ सालमा स्थापना भएको उक्त ग्यालरीमा फोटो, चित्रमात्रै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन समग्र पोखरामै अन्यत्र नभएकाले पनि पोखरा आर्ट ग्यालरी कलाकारको अन्तिम गन्तव्य बनेको थियो ।
वरिष्ठ कलाकार तथा कार्टुनिष्ठ दुर्गा बराल वात्सायन पोखरा आर्ट ग्यालरी बनाउन सुरुमा पोखरेली कलाकारले साह्रै मिहिनेत गरेको र आफूहरुले सकेजति सहयोग गरेर बनाएको सम्झदैं ग्यालरी बनिसकेपछि पोखराको चित्रकला अन्तर्राष्ट्रियस्तरसँग जोडिएको बताउनुहुन्छ ।
वात्स्सायनले अर्काे ग्यालरीको टुंगो नलगाइकनै महेन्द्रपुलस्थित उक्त ग्यालरी भत्काउन खोज्दा आफूहरुले नै रोकेको बताउँदैं अर्को विकल्पको व्यवस्थापन नभइकन नछोड्ने बताउदैं पोखराजस्तो सहरमा ग्यालरी एउटामात्रै होइन, धेरै हुनुपर्ने जिकिर गर्नुहुन्छ ।
वात्सायनले एउटा महानगर महानगरजस्तो, सहर सहरजस्तो हुन जति अन्य पूर्वाधार आवश्यक पर्छ त्यहाँ पुस्तकालय, ग्यालरी, म्युजियम पनि चाहिने र यी चिजलाई समेट्न सकिएन भने महानगर पूर्ण नहुने बताउदैं महानगर भन्ने कला देखाउने ठाउँ पनि नहुने यस्तो कसरी हुन्छ ? भनी महानगरसँग गुनासो गर्नुहुन्छ ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य नगेन सिंहले पोखराको चित्रकला विकासका लागी आर्ट ग्यालरी आवश्यक रहेको र कलाकारले आफुले सिर्जना गरेका चित्रकला प्रर्दशनी गर्ने ठाँउ पोखरा महानगरले छिट्टो निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै कलाकारका सिर्जनालाई कार्यालयमा सजाउनका लागि राज्यले किनिदिने, शिक्षण संस्थामा कला शिक्षाको विषय समावेश गर्नुपर्ने, कलाकारलाई प्रोत्साहन मिल्ने किसिमका कार्यक्रम सञ्चालन गरिनु आवश्यक रहेको सिंहले थप्नुभयो ।


‘पोखरा आर्ट ग्यालरी’ मा अहिले भवन त छ तर, नाममात्रैको होकी जस्तो ।
सिर्जनशिल कलाकार समुहका अध्यक्ष तथा पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मिलन शेरचनले एक वर्ष भएपनि विभिन्न कारणले केहि कार्य गर्न नसकेको बताउदैं नाम मात्रै प्रज्ञा प्रतिष्ठान भएको बताउनुभयो । शेरचनले अब साउनबाट कार्य सुरु गर्ने योजना रहेको बताउदैं कार्य गर्न नदिए सामुहिक राजिनामा दिने बताउनुभयो ।
तीन वर्ष अघिसम्म फोटो, चित्रकला प्रदर्शनीले चहलपहल भइरहने यो ठाउँ अहिले सुनसान हुँदै गएपछि पोखराको कला संस्था सिर्जनशिल कलाकार समुहले कलाकारसँग पैसा उठाएर मर्मत गरेर कला गतिबिधि सुरु गरेको समुहका कोषाध्यक्ष झबिन्द्र गुरुङले बताउनुभयो ।
ग्यालरी मर्मतसम्भार गरी भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनीबाट कलाको चहलपहल सुरु भएको छ ।
काठमाडौंपछि कलाको कशिमा पोखरा दोस्रो नम्बरमा आउँछ । तर, यही सहरमा हामी आफ्नो प्रतिभा पनि देखाउन पाउँदैनौं । आफूले बनाएका कला देखाउने ठाउँ पनि छैन भनि कलाकारहरु दुखेसो पोख्छन् ।


कलाकारितामा नै जीवन व्यतित गर्नुभएको पोखरेली वरिष्ठ कलाकार वाई.सी. भूर्तेल नेपालमा अहिले चित्रकलाले बिस्तारै व्यावसायिक गति लिँदै गए पनि युवापुस्तालाई यसमा अझै राम्रोसँग आकर्षित गर्न नसकिएको बताउदैं भावी पुस्तामा पनि जीवन्त चित्र कोर्ने क्षमताको विस्तार गर्नु आवश्यक रहेको व्यावसायिक विकासका साथै स्थापित पहिचानलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनुहुन्छ । राज्यले कलाकारलाई उचित सम्मान गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आँफु ३८ भन्दा बढि देश पुग्दा जति सम्मान अरु देशमा पायो त्यति आफ्नो देशमा नभएकोमा भूर्तेलले गुनासो व्यक्त गर्नुभयो ।
नगेन आर्ट एकेडेमिका सञ्चालक ज्योती हमालले कला गतिबिधिको अभाव महसुस गरी आफ्नै पहलमा एकेडेमी र ग्यालरी सञ्चालन गरी देशभरका कलाकारहरुको राष्ट्रिय कला प्रदशनी गरीसकेको जानकारी दिदै महानगरले कलाको उपेक्षा गरे महानगरको विकास हुन नसक्ने बताउनुभयो ।
त्यसो त देश संघीयतामा गइसकेका अवस्थामा पनि गण्डकी प्रज्ञा प्रतिष्ठान बाहेक अरु प्रदेशमा त प्रज्ञा प्रतिष्ठान नै गठन हुन सकेको छैन । गण्डकी प्रज्ञा प्रतिष्ठानमा पनि चित्रकला बिधाको कोहि पनि पर्न सकेनन् ।
कला क्षेत्रलाई अहिले मुख्य चुनौती भनेको नै सिर्जना र बजार रहेको छ । बजारतिर लाग्ने हो भने कलाकारहरुलाई कला सिर्जना मर्ने डर फेरी कला सिर्जनालाई मात्र निरन्तरता दिएर दैनिकीका साथै आवश्यक कला सामग्रीको जोहो कसरी गर्ने भन्ने डर । कलाकृतिको मूल्यका लागि आफैंले बजार खोज्नु आजको मुख्य समस्या रहेको छ ।
अहिले कलाकारहरुले सिर्जना र बजार दुवैलाई आफैंले हेर्नुपरेको छ । कलाकारको सिर्जना प्रवद्र्धन र बिक्रीमा राज्यले बजार व्यवस्थापन गर्न त सकेन प्रदशनी गर्ने ठाँउको पनि व्यवस्थापन गर्न सकेको छैन ।

त्यसो त काठमाण्डौं उपत्यकाभित्र मात्र कला प्रदर्शनी र प्रचारका लागि एक दर्जनको हाराहारीमा आर्ट ग्यालरीहरु छन् । स्थानीय तहमा पनि उपत्यकाभन्दा बाहिर बसेर कला विस्तारका लागि कलाकारहरु निरन्तर खटिरहेका छन् । मुलुकमा ग्यालरी संख्या कति छन् उपत्यकाका कुन ग्यालरीको अवस्था कस्तो छ भन्ने हाल ललितकला प्रतिष्ठानले नै अनुसन्धान गर्नसकेको छैन ।
आर्थिक वर्ष २०७७÷०७८ को लागि भने प्रतिष्ठानलाई कुल ५ करोड ४२ लाख ९१ हजार रुपैयाँ बजेट निकासा गरेको थियो । यसमा उपभोग तथा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ९१ हजार अर्थात ६३.१६ प्रतिशत छ । त्यस्तै पूँजिगत तर्फ १ करोड, १८.४२ प्रतिशत छ भने कार्यक्रमतर्फ पनि १ करोड नै बजेट छुट्याइएको छ ।
आर्थिक वर्ष २०७८ ÷७९मा भने ललितकला प्रज्ञा प्रतिष्ठानका लागि भने सरकारले कुल ५ करोड २३ लाख रुपैयाँ बजेट छ ।
ललितकला प्रतिष्ठान छुट्टै एकेडेमीको रुपमा स्थापना भएको एक दशक पूरा भइसक्दा पनि आर्ट काउन्सिल भन्दा बाहेकका ग्यालरीहरु कलाकारहरुले व्यक्तिगत प्रयासमा नै सञ्चालनमा छन् ।
अग्रज चित्रकारहरुको कलाकृतिहरुलाई संरक्षण गर्ने संग्रहालयको अभाव छ । प्रदर्शनीका लागि अन्तर्राष्ट्रिय स्तरको ग्यालरीको स्थापना भएको छैन । यसले गर्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीका लागि नेपाल आर्ट काउन्सिल नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।
कोराना महामारीले कतिपय आर्ट ग्यालरी बन्द भए भने कति बन्द गर्नुपर्ने अवस्थामा पुगेको चित्रकारहरुको भनाइ छ ।
कोरोना महामारीको बिकराल रुपपछि कलालाई सामान्य अवस्थामा फर्काउन प्रतिष्ठानले कार्ययोजनाहरु बनाउन सकेको छैन । पोखरा महानगरले केन्द्रको मुख ताकेर होईन आँफै आत्मनिर्भर हुने गरि कलाको जर्गेना तर्फ लाग्नुपर्छ ।
प्रतिष्ठानले कला प्रदर्शनी, कार्यशाला भन्दा पनि कलालाई दिगो रुपमा लैजाने दीर्घकालीन योजनाहरु बनाउनुपर्ने कलाकर्मीहरुको आग्रह गर्छन् । तर प्रतिष्ठानले बिलाउँदै गएका कलाकारका कलाकृति र भएका कलाकारहरुलाई प्रतिष्ठानले उत्साह थप्ने वातावरण तयार गर्नुपर्ने टड्कारो स्थिति छ ।
विश्व सामु नेपाललाई चिनाउनका लागि लिच्छवीकालमा अरनिकोले आफ्नो कलाकारिताबाट व्यक्ति मात्र चिनिएनन् देशलाई नै विश्व सामु चिनाएका थिए । उक्त समयमा नेपाललाई कलाकारिताको स्यर्ण युग मानिन्थ्यो । अब पोखराले भौगोलिकरुपमा मात्र ठुलो भएर होईन कलाकारिताको लागि अब्बल महानगरको परिचय स्थापित गर्न पहल गर्नुपर्ने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला