पोखरा, पौष २ । १८औँ हिसान कास्की स्पोट्र्स मिटको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरामा विद्यार्थी खेलकुदको सबैभन्दा ठूलो उत्सवमध्ये एक मानिने यस स्पोट्र्स मिटको सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा हुने यस प्रतियोगिता पौष ३ देखि ७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन पौष ४ गते गरिनेछ ।
शिक्षासँगै विद्यार्थीको शारीरिक, मानसिक र नेतृत्व विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस स्पोट्र्स मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२)का विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा चार हजारभन्दा बढी विद्यार्थी प्रतिस्पर्धामा उत्रने छन् ।
विषेशगरी यस प्रतियोगिताले पोखरालाई केही दिनसम्म पूर्ण रूपमा खेलकुदमय बनाउने आयोजकले जनाएको छ ।
यस स्पोट्र्स मिटमा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिस गरी चार खेल समावेश गरिएको छ ।
छात्र भलिबलमा ३८ र छात्रा भलिबलमा २४ टिम, छात्र बास्केटबलमा सर्वाधिक ४६ र छात्रा बास्केटबलमा २० टिम, टेबल टेनिसमा छात्र–छात्रा सिंगल्स र डबल्स गरी करिब २ सय ५० खेलाडी र ब्याडमिन्टनमा छात्र–छात्रा सिंगल्स र डबल्स गरी २ सय ५८ खेलाडी सहभागी हुनेछन् ।
बास्केटबलमा टिम संख्या धेरै भएकाले पोखरा रंगशालासँगै रामघाटस्थित पुन समाजको कोर्टमा पनि खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
यस्तै विश्वविद्यालयतर्फ भने बास्केटबल, टेबल टेनिस र ब्याडमिन्टनका प्रतिस्पर्धा हुनेछन्। हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले स्पोट्र्स मिटलाई केवल प्रतियोगिता नभई खेलकुद उत्सवको भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“विद्यार्थीको क्षमता खेलकुदमार्फत उजागर गर्नु र भविष्यका युवा खेलाडी उत्पादन गर्नु हाम्रो मूल उद्देश्य हो। शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व र भाइचाराको विकासमा यो प्रतियोगिताले ठूलो भूमिका खेल्दै आएको छ।”
प्रतियोगिता सम्पन्न गर्न करिब ३२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेता विद्यालय तथा टिमलाई ४० टोल चाँदीले बनाएको रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण(पत्र प्रदान गरिनेछ ।
हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेलका अनुसार हरेक खेलको टिम विजेताले ७, दोस्रो हुनेले ५, तेस्रोले ३ र चौथो हुनेले १ अंक प्राप्त गर्नेछ ।
प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्न सफल टिम च्याम्पियन बन्ने छ । सो टिमले उपाधिसँगै आकर्षक रनिङ्ग कप प्राप्त गर्नेछ ।
यस प्रतियोगिता अन्तर्गत खेल सञ्चालनका लागि विभिन्न संयोजक तोकिएका छन्। ब्याडमिन्टनतर्फ पुरन कुँवर, टेबल टेनिसमा आमोद कोइराला, बास्केटबल (छात्र) तर्फ खिम गुरुङ, बास्केटबल (छात्रा)तर्फ रामचन्द्र पौडेल, विश्वविद्यालयतर्फ भने विकास पहारी, भलिबल छात्रतर्फ नविन बराल, छात्रातर्फ टंकनाथ बराल रहेका छन् ।
त्यस्तै उपाध्यक्ष कंडेलले यस स्पोट्र्स मिटको अघिल्ला तीन संस्करण १५औँ, १६औँ र १७औँ प्रतिभा माविले लगातार जित्दै रनिङ शिल्ड कब्जा गरेको बताउनुभयो ।
त्यसभन्दा अघि न्यू ग्यालेक्सीले चार पटक र ग्लोबल कलेजियट माविले तीन पटक उपाधि जितिसकेका छन्। यस पटक नयाँ च्याम्पियन जन्मिने कि पुरानै वर्चस्व कायम रहने भन्ने चासो उत्कर्षमा छ ।
हिसान कास्की अन्तर्गतका ४० शिक्षण संस्थाबाट यस स्पोट्र्स मिटमा सहभागिता रहनेछ। कास्कीमा आवद्ध यी संस्थाहरूमा ४० हजारभन्दा बढी विद्यार्थी र ५ हजारभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्। प्याब्सन, एन–प्याब्सन, युनिप्सलगायत संस्थासँग आबद्ध विद्यालयहरू हिसानको छातामुनि रहेका छन् ।













