व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २०, साउन ।
पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल सहरी उत्थानशील परियोजना सार्वजनिक निजी संवादसमेतका माध्यमबाट “उद्यमशीलता विकास तथा नवउद्यम प्रवद्र्धनका लागि व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी पत्र” मा हस्ताक्षर गरिएको छ । ६ बुँदे समझदारी पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवन कुमार प्रजापति र नेपाल सहरी उत्थानशील परियोजनाको तर्फबाट सविता थापाले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार पोखरा महानगरपालिकामा उद्यम गर्न चाहने व्यक्ति वा समूहलाई उद्यमशीलताको अनुसन्धान र विकास प्रविधि हस्तान्तरण तथा बजार, सह–कार्यस्थल, उद्भवन, प्रशिक्षण, वित्तीय तथा कानुनी परामर्श प्रदान गरिनेछ । साथै “व्यवसाय प्रवद्र्धन केन्द्र सञ्चालन कार्यविधि–२०७९” बमोजिम स्थापना हुने व्यवसाय प्रवद्र्धन केन्द्र अन्तरगत गठन हुने सार्वजनिक निजी संवाद मञ्च समेतका माध्यमबाट निजी तथा सार्वजनिक क्षेत्रबिच नियमित, नतिजामुखी र पारदर्शी रूपमा संवाद, छलफल तथा अन्तरक्रियाको अभ्यासलाई संस्थागत गरिनेछ ।

समझदारी पत्रमा पोखरा महानगरपालिकामा विद्यमान व्यवसाय सञ्चालन गर्ने वातावरणमा सुधार र बजार प्रणालीको सुदृढीकरण मार्फत उद्यमशीलता विकासलाई प्रोत्साहन, सहजीकरण तथा सहयोग गर्ने, महानगरपालिकाले थालनी गरेको मेयर नवउद्यम (स्टार्टअप) विकास कार्यक्रम तथा उपमेयरसँग महिला कार्यक्रमलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन आवश्यक नीति, रणनीति तथा कार्य योजना तयार गरी कार्यान्वयनमा सहयोग गर्ने, पोखरा महानगरपालिकाले स्थापना गर्ने व्यवसाय प्रवद्र्धन केन्द्र एवं सो अन्तरगतको सार्वजनिक निजी संवाद मञ्चलाई संस्थागत गर्न र संस्थागत क्षमता अभिवृद्धि गर्न आर्थिक, भौतिक, प्राविधिक तथा बौद्धिक सहयोग प्रदान गर्ने लगायत उल्लेख छ । यसका अलवा त्रिपक्षीय जिम्मेवारी समेत समझदारी पत्रमा तोकिएको छ ।

रोजगारीको अभाव र उद्यमशीलताको क्षेत्रभन्दा बाहिर रहेका व्यक्तिहरूलाई व्यवसाय सुरु गर्न यस कार्यक्रमले सहयोग गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । व्यवसाय सञ्चालन गरी उद्यमशील बन्न चाहने जो कोहीलाई व्यवसाय प्रवद्र्धन केन्द्रको पूर्ण सहयोग रहने विश्वास समेत उहाँले दिलाउनुभयो । यसका लागि आवश्यक पुँजीको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार रोजगारी सृजना तथा उद्यमशीलता विकासका लागि केन्द्र मार्फत सञ्चालन गर्ने गरी ३० करोड बराबरको पुँजीको व्यवस्थापन महानगरपालिकाले गर्नेछ ।

यस क्षेत्रका विज्ञहरूले अनुसन्धान र विकास प्रविधिलाई जोड्ने एक महत्वपूर्ण कडीका रूपमा यसको व्याख्या गरेका छन् । उनीहरूले महानगरको यस प्रकारको प्रयासलाई उद्यमशीलता र रोजगारी सृजनाको अपरिहार्य तर, नवीन अभ्यास समेत भनेका छन् । यस कार्यक्रम मार्फत बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्न सकिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला