पत्रकार हीमनीधि लौडारी पुरस्कृत


पोखरा । नेपाल प्रेस युनियन कास्कीद्धारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूणर्चन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत हुनु भएको हो ।
पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । पत्रकार लौडारीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नु भएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकाश नपाउने बताउनु भएको छ । उहाँले ओलीलाई फाल्नु नै अहिलेको उत्तम विकल्प भएको भन्दै यति गरिए मुलुकले सही दिशा लिने स्पष्ट पार्नु भयो ।
सम्मान कार्यक्रममा नेता पौडेलले मुलुक चरम संकटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता र रहस्यमय मौनताप्रति आफूलाई आशंका लागेको समेत बताउनु भयो । सभापति देउवाको मौनताले नै मुलुक अनिणर्यको बन्दी बनेको पौडेलको आरोप छ । सभापति देउवाको ढुलमुले पाराले झनै समस्या निम्त्याउने भन्दै अब कांग्रेस दोधारमा नबसी दह्रोसंग निणर्य लिएर कांग्रेसले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनु भयो ।
नेता पौडेलले वर्मामा सैनिक शासकले सत्ता कब्जा गरेर मानव अधिकार उलंघनका घटना घटाएकोप्रति आपत्ति प्रकट समेत गर्नु भयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक रमेश पौडेलका अनुसार पुरस्कृत पत्रकार लौडारी २०४८ सालदेखि पत्रकारितामा सक्रिय रहनु भएको छ । बहुप्रतिभाशाली पत्रकारको रुपमा परिचित लौडारी तनहूँ चिसापानी अर्थात भानु नगरपालिका वडा नं. १० निवासी हुनुहुन्छ ।

उहाँले पोखराको आदर्श समाज, जनमत दैनिक, पोखरेली दैनिक, दि हिमालय टाइम्स, उज्यालो नेटवर्क हुँदै हाल रेडियो तरंग र हिमदूत दैनिकका सञ्चालक हुनु हुन्छ । उहाँ २०५६ मा ट्रान्सफरेन्सी इन्टरनेशनल पुरस्कार र नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको थियो ।

विद्यार्थी जीवनमा नेविसंघको सभापति भएर काम गरेका हीमनीधि प्रजातन्त्रवादी पत्रकारको रुपमा परिचित हुनुहुन्छ । रमेश पौडेल संयोजक, भेला बराल, विमला भण्डारी, नवीन सिग्देल, प्रदीप पौडेल र कुशल बराल सदस्य रहेको छनोट समितिले लौडारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता भोला बराल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सम्मानित पत्रकार हीमनीधि लौडारीलगायतले बोलेका थिए ।

युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!