राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा धनगढीबाट शुरु, कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ ः सभामुख थापा

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रवारदेखि शुरु भएको छ । पहिलो पटक प्रदेश स्तरमा भौतिक रुपमा हुन लागेको वार्षिक साधारणसभा अन्तरगत पहिलो सभा सुदुरपश्चिम प्रदेशको धनगढीबाट शुरु भएको हो । एकाई ७ अन्तरर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित साधारणसभाको सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले उद्घाटन गर्नु भयो ।
साधारणसभा उद्घाटन पछि बोल्दै सभामुख थापाले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषि क्षेत्रमा आमुल परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उहाँले सहकारीमा रहेको सीप र पूँजिलाई कृषि क्षेत्रको व्यावसायिकीकरणमा लगाउनु पर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रको प्रद्धर्वनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकको सेवालाई सुदूरपश्चिम प्रदेशको विकट जिल्लाहरुमा समेत पु¥याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
सुदूरपश्चिम क्षेत्रको विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने तयारी गरेका छौ, सभामुख थापाले भन्नुभयो–प्रदेश सरकारले सहकारी क्षेत्रको योजना निर्माण गर्दा सहकारी बैंकसंगग सहकार्य गरेर काम गर्नेछौ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्गले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित गराउदै समग्र सहकारी क्षेत्रको साख बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
सहकारी बैंकलाई मुख्य बैंक बनाएर उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा ध्यान दिनु पर्दछ, उहाँले भन्नुभयो–‘कृषि, कृषक र वातावरण जोगाउने गरी सहकारी बैंकका कामलाई केन्द्रीत गर्नु पर्दछ ।’
मन्त्री तामाङ्गले सहकारी बैंकलाई शाखा होइन, सदस्यमार्फत देशव्यापी रुपमा अगाडि बढाउने गरी वर्तमान सहकारी ऐनलाई संशोधन गर्नु पर्ने सुझाव दिनु भएको छ ।
साधारण सभामा धनगगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदन सिंह धामी, सुदूरपश्चिमप्रदेश प्रादेशिक बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधव प्रसाद जोशी, नेपाल बहुउद्देश्यीय सहकारी संघका संञ्चालक सुरेन्द्र कुमार शाह, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला विद्युत सहकारी संघ कैलालीका अध्यक्ष कृष्ण बहादुर खत्री, जिल्ला बचत तथा ऋण सहकारी संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट र जिल्ला सहकारी संघ बजुराका अध्यक्ष दिनेशराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले बैंकले हालै १० वर्षे रणनीतिक योजना तर्जुमा गरेर आर्थिक वर्ष २०७९÷०८० देखि आ.व २०८८÷०८९ सम्मको लागि विभिन्न रणनीतिक स्तम्भहरु र ध्येय तय गर्दै “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना लिई अघि बढाएको र रणनीतिक योजनाले बैंकलाई सवल, सक्षम र प्रभावकारी बताउनु भयो । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । बैंकमा हाल ३ अर्ब शेयर पुँजी र यसलाई बढाएर ८ अर्ब पु¥याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक लक्ष्मी प्रसाद उप्रेती, विनियम तथा कार्यविधि संशोधन प्रस्ताव सञ्चालक तथा नीति नियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गर्नु भएको थियो ।
सुदूरपश्चिम प्रदेशबाट शुक्रवारदेखी सुरु भएको साधारणसभा पुस १८ गते एकाई ६ अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेत, पुस २० गते एकाई ५ अन्तर्गत लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि बुटवल, पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पोखरा सभागृहमा हुदैछ ।
त्यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमती प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि काठमाडौ, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुको लागि जनकपुरधाममा र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर,–१, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैंकका संचालक केदार मानन्धरले संचालन गर्नु भएको साधारण सभामा बैंकका संचालक शिवा थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । साधारण सभाबाट एकाई वैठकको निर्णय प्रमाण्ति गर्न १७ जना प्रतिनिधिहरु पनि छनौट भएका छन् । साधारणसभामा प्रस्तुत गरिएको सबै प्रतिवेदनहरु बन्दसत्रले सर्वसम्मत पारित गरेको छ ।

त्यस्तै राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभामा पुरस्कार पाउने व्यक्ति तथा संघ÷संस्थातर्फको सम्मान तथा पुरस्कार सार्वजनिक भएको छ ।
एकाई ७ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रवार भएको पहिलो एकाई साधारण सभामा बैंकका सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका सदस्य विश्वनाथ मण्डलले पुरस्कृत तथा सम्मानित हुनेहरुको नामावली घोषणा गर्नु भएको हो ।
हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष पनि बैंकले घोषणा गरेको छ, बैंकले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अन्तरगत यस वर्ष सहकारी अभियन्ता सम्मान राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, पूर्व सञ्चालक कुलचन्द्र अधिकारी, सहकारी बैंक विद्वताविधामा डा.रमेश चौलागाई, संस्थापक अध्यक्ष÷संचालक खेमराज पाण्डेय, सहकारी बैंक पत्रकारिता पुरस्कार पत्रकार खिलानाथ दाहाललाई प्रदान गर्ने भएको छ ।
यस्तै बैंकको शाखामध्येबाट लगनखेलशाखा, कर्मचारीहरु मध्ये अधिकृत तहबाट दिनेश गेलाल (शाखा प्रमुख सुर्यविनायक), सहायक स्तरबाट श्रवणकुमार नेवा खड्गी –शाखा प्रमुख सिन्धुली), सहयोगी स्तरबाट नीरकुमार क्षेत्री (लगनखेल शाखा) लाई पुरस्कृत गरिने भएको छ ।
सहकारी बैंकले देशभरका सहकारीहरु मध्ये राष्ट्रियस्तरमा संघहरु मध्ये जिल्ला सहकारी संघ रुपन्देही,.बचत तथा ऋण सहकारी मध्येबाट लुम्विनी सुनवल बचत तथा ऋण सहकारी संस्था सुनवल, नवलपरासी, राष्ट्रियस्तर बचत तथा ऋण बाहेक पौरखी कृषि सहकारी संस्था दोलखा, राष्ट्रियस्तर महिलाद्वारा संचालित संस्था मध्ये महिला एकता बचत तथा ऋण सहकारी संस्था मकवानपुर रहेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशस्तरमा बचत तथा ऋण तर्फ लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था कैलाली, प्रदेशस्तर बचत तथा ऋण बाहेक जन कल्याण बहुउद्देश्यीय सहकारी संस्था बाजुरा रहेका छन् । शाखा स्तरमा धनगढी शाखाबाट उत्कृष्ट कारोबार गर्ने नवज्योती कृषि सहकारी संस्था धनगढी, नियमित कारोबार गर्ने राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था धनगढी रहेका छन् । सुदूरपश्चिम प्रदेशस्तर तथा शाखा स्तरको पुरस्कार शुक्रवार नैै वितरण गरिएको छ, भने अन्य पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई सम्बन्धित प्रदेशगत एकाई साधारण सभामा पुरस्कार वितरण गरिने बैकले जनाएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!