सहकारीको प्रवद्र्धनमा सञ्चारको भूमिका बढाउनुपर्नेमा जोड

पोखरा । सहकारी क्षेत्रको प्रवर्धनका लागि सञ्चार क्षेत्रसंगको सहकार्य बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकमको आयोजना तथा जिल्ला सहकारी संघ कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजित सहकारी र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सञ्चारसंगको सहकार्यमा सहकारी क्षेत्रका सबल पक्षहरुलाई आम समुदायमा लैजानु पर्ने बताएका हुन ।
सहकारीले आफ्ना सदस्यहरु र आम समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणमा धेरै महत्वपूर्ण काम गरेका छन्, तर केही सहकारीहरुका कमजोरीका कारण सहकारीका असल कामहरु ओझेलमा परेको भन्दै सहकारीकर्मीहरुले कमजोरीसंगै सबल पक्षका बारेमा जानकारी गराउन सञ्चार क्षेत्रले ध्यान दिनु पर्ने बताए ।
उनीहरुले सहकारीका समाचार प्राथमिकतामा नपरेको गुनासो समेत गरेका छन् । सहभागी सहकारीका अगुवाहरुले आदर्श सञ्चार डटकमसंग समन्वय गरेर पोखराका सहकारीहरुको प्रर्बद्धनमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई हेर्ने आम दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि सञ्चारमाध्यमको भूमिका बढी हुने भएकाले सहकारी र र सञ्चारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सहकारी क्षेत्रमा राम्रा धेरै र नराम्रा कम समस्या छन्, तर कमजोरीहरुलाई बढी प्राथमिकता दिएका कारण राम्रा नै छैनन् कि भन्ने भ्रम राज्य सञ्चालनको जिम्मेवारीमा बसेकाहरुमा छ उप्रेतीले भन्नुभयो, सहकारी र सञ्चारबीच समन्वय गरेर सहकारीका सबल पक्षहरुलाई उजागर गर्न सके सहकारीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ ।
यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सञ्चार माध्यम सञ्चालन गरेर अब्बल भएका सञ्चार सहकारीहरु सिमित रहेको बताउनुभयो । सहकारी क्षेत्रले सञ्चार क्षेत्रलाई विशेष ध्यान पु¥याउनुपर्ने उहाँको भनाइ थियो । गुरागाईले सूचनालाई नकरात्मक भन्दा सकरात्मक रुपमा बढी प्रभाव गर्नुपर्ने भन्दै सञ्चार क्षेत्रलाई सकरात्मक परिचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा दुग्ध केन्द्रीय संघका लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज पराजुली, नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, संघका निवर्तमान अध्यक्ष रविरमण तिवारी, सप्तगण्डकी दुग्ध सहकारी संघका अध्यक्ष पुण्य प्रसाद पौडेल, पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारी लगायतले सञ्चार र सहकारीको प्रभावकारिताका विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहकारी मार्फत सञ्चारको विकास, आदर्श सहकारीको काम, योजना र भूमिकाका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, सराङ्कोट बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, जयलक्ष्मी सहकारीका अध्यक्ष निलराज आत्रेय, प्रमुख कार्यकारी अधिकृत सुशिल के.सी, काँहुकोट बहुउदेश्यीय सहकारी संस्थाका सचिव दिपक प्रकाश आचार्य, विराट कृषि सहकारी संस्थाका निर्वतमान अध्यक्ष रामजी लामिछाने, पोखरा महानगर सहकारी संघका लेखा संयोजक लक्ष्मी प्रसाद त्रिपाठी, जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शेर बहादुर कार्की, लगायतले सहकारी सञ्चार क्षेत्रको भूमिकाका विषयमा जिज्ञासा राख्दै सहकारीका सकरात्मक कामको सञ्चार क्षेत्रले प्राथमिकता दिनुपर्ने सुझाव दिनु भएको थियो ।
कार्यक्रम आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो ।
२०६३ सालदेखि सञ्चार क्षेत्रमा क्रियाशिल रहेको आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको छ । संस्थामा हाल तीन हजार शेयर सदस्य, पाँच करोड ५० लाख शेयरपूँजी, ३३ करोड बचत, ३७ करोड कर्जा लगानी र ४५ करोड वासलात रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!