८ करोड २५ लाखको लगानीमा पोखरामा बञ्जी जम्प सञ्चालनमा, उद्घघाटनको अबसरमा २५ प्रतिशत छुट

पोखरा । पर्यटकीय नगरी पोखराको रातो पहिरामा साहसिक खेल बञ्जी जम्प सञ्चालनमा आएको छ ।
बञ्जी नेपाल एडभेन्चर प्रा.लि. ले आठ करोड २५ लाखको लागतमा बञ्जी जम्प सञ्चालनमा ल्याएको हो । तनहुँका सन्तोष भट्टराई सहित राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपाल बहादुर बराल क्षेत्रीले उक्त बन्जी संचालनमा ल्याएका हुन् ।
प्याराग्लाईडिङ्गका लागि उत्कृष्ट ठहरिएको पोखरालाई बन्जी जम्पको पनि हब बनाउने उद्देश्यले आफुहरुले बन्जी नेपाल एड्भेन्चर्स प्रालिको दर्ता गराएको अध्यक्ष सन्तोष भट्टराईले बताउनु भयो । बन्जीमा उहाँको लामो अनुभव रहेको छ । पोखरा १७ रातोपैरामा अवस्थित बन्जीको अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय नाम “गो बञ्जी” को फ्रेन्चाइज बञ्जी जापानका संस्थापक बिउ रिटालिकले सोमबार पहिलो जम्प गरेर सफल परीक्षण समेत गरिएको मंगलबारको पत्रकार सम्मलेनमा भट्टराईले बताउनु भयो ।
बञ्जीलाई २०७७ को शुरुवातमै सञ्चालन गर्ने लक्ष्य रहेको भएता पनि कोरोना प्रभावका कारण पछि धकेलिएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले एक वर्ष पछाडि नयाँ वर्ष देखि नै बञ्जीको व्यावसायिक सञ्चालन गर्न सकिएको बताउनुभयो ।
बञ्जीमा ५५ मिटर लामो क्यान्टिलिभर पुल मार्फत स्टेसनको १०१ र १०५ मिटर गरी २ उचाइबाट जम्प गर्न सकिने छ । अध्यक्ष भट्टराईले एकै ठाउँमा दुई फरक उचाइमा जम्प गर्न मिल्ने पहिलो बञ्जी जम्प साइट आफूहरूको भएको दावी समेत गर्नुभयो । बञ्जीको १०१ मिटर प्लेटफर्मबाट साधारण बञ्जी र १०५ मिटर प्लेटफर्मबाट साइकल जम्प, बकेट जम्प, रनिङ जम्प लगायतका जम्प गराइने भट्टराईले बताउनुभयो ।
सिङ्गापुरमा मुख्य कार्यालय रहेको गो बञ्जीको फ्रेन्चाइजका रूपमा गो बञ्जी कै प्राविधिक सहयोगमा आइएसओ स्ट्याण्डर्ड अनुसार बञ्जी तयार गरिएको अध्यक्ष भट्टराईको भनाई छ । अन्तर्राष्ट्रिय मापदण्डमा बञ्जी जम्पमा अपनाइने सबै खालका सुरक्षालाई आफूहरूले अपनाएको उहाँले बताउनुभयो ।
बञ्जी जम्पमा ४० देखि ५५ केजीसम्म, ७५ केजीसम्म, ९५ केजीसम्म र १२० केजी सम्मको लागि छुट्टाछुट्टै चार प्रकारको डोरी प्रयोग गरिने, जम्पको समयमा कसैले असहज महसुस गरे तिन वटा ब्याकअपसहित मेसिनरी र अपरेटरको सहायताबाट ३ देखि ६ मिनेटमै उद्धार गरिने व्यवस्था गरिएको भट्टराईले बताउनुभयो । पूर्व तयारीको समय बाहेक तीन सेकेन्डको फ्री फल रहने जम्पमा ३ मिनेट स्विङ्गसहित, विनचिङ मेसिनले माथि तान्ने समय गरी६ देखि ७ मिनेटमा बञ्जी जम्प गर्न सकिने भट्टराईको भनाई छ ।

बञ्जी जम्प गर्न शुरुवाती क्रममा रु छ हजार मूल्य कायम गरिएकोमा उद्घाटनको अवसरमा केही समयको लागि २५ प्रतिशत छुट प्रदान गरिने भएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । फोटो तथा भिडियोको लागि भने १२ सय रुपैयाँ अतिरिक्त तिर्नुपर्ने पनि भट्टराईले बताउनुभयो ।
भट्टराईले बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो पटक टावर क्लाईम्बिङ सुरु गरिएको बताउनुभयो । बन्जी परिसरमा रेस्टुरेन्ट तथा कफि सपको समेत व्यवस्था गरिएको छ ।
६ देखि ७ मिनेटमा एउटा बन्जी जम्प सकिने उनले जानकारी गराए । भट्टराईले दैनिक ४० जम्प गरेको खण्डमा चार देखि पाँच वर्ष भित्रमा नै आफुहरुको सम्पूणर् लगानी उठ्ने बताउनुभयो ।

पत्रकार अनिशा बराल बन्जी गर्दै


सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृङखला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्नेमा विश्वस्त हुदैं सञ्चालक भूपाल बहादुर बरालले बञ्जी जम्पको आनन्द लिन सकिने भएकाले यो बञ्जी अन्य ठाउँको भन्दा पृथक् रहेको बताउनुभयो ।
१२० केजी सम्म तौल भएका व्यक्तिले बन्जी गर्न सक्ने छन् । मंगलबार पोखराका पत्रकारले समेत बन्जी जम्प गरेका छन् । प्रकाश ढकाल, दीपक परियार, धनबहादुर गुरुङ(सुमन), प्रेम थापा, सन्तोष बस्याल, अनिशा बराल,दिनेश मरासिनी लगायतका पत्रकारले आज बन्जी गरेका हुन् ।

Facebook Comments Box