१९औं आहारारा गोल्डकप फुटवल प्रतियोगिता चैत १७ गतेदेखि


स्वास्थ्य सचेतता अपनाएर कोरोनाको जोखिम कम गर्दै १९औं आहारारा गोल्डकप फुटवल प्रतियोगिता हुने आयोजक सहारा क्लव पोखराले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगिता यस वर्ष चैत १७ गतेदेखि २८ गतेसम्म आयोजना गर्ने क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिदै प्रतियोगिता आयोजना गर्न अखिल नेपाल फुटवस संघ (एन्फा)ले अनुमति दिइसकेकाले प्रतियोगिताको तयारी शुरु गरेको उहाँले बताउनु भयो ।
खेलकुदको विकासमा सहाकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ चैतमा हुने प्रतियोगितामा १२ टीम सहभागि हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनु भयो ।
प्रतियोगितामा विदेशी टीमसहित नेपालका ए डिभिजनका क्लवहरु, मोफसलका टीमहरु र आयोजक सहारा क्लव सहभागि हुने उहाँले बताउनु भयो ।प्रतियोगिता अन्तर्गतका खेलहरु दर्शकले प्रत्यक्ष हेर्न पाउने भएपनि रंगशालाको दर्शक प्याराफिटको क्षमताको आधा दर्शक मात्र राखिने क्लवका अध्यक्ष थापाले जानकारी दिनु भयो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड-१९)बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रत्येक सिटमा दर्शक नराखी प्रत्येक दशैकपछि १/१ सिट खाली राखिने उहाँले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङले आहारारा गोल्डकपमा पोखरा रंगशालामा २० हजार दर्शक संख्या पुर्याउने गरी तयारी गरिने बताउनु भयो । उहाँले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सहारा युकेका महासचिब धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेबाट पूणर् सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार संकलन गरेर २८ लाख २० हजार बचत गर्ने लक्ष्य लिइएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
प्रतियोगिताबाट बचत भएको रकम आयोजक सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने जनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना असहायः बालकहरु आश्रित छन् । उनीहरुलाई शिक्षा, दीक्षा, खेलकुद प्रशिक्षणलगायत निःशुल्क रुपमा गरिदै आएको छ ।

Facebook Comments Box