१४ जिल्लाका १४ पत्रकारहरू ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा सम्मानित

काठमाडौँ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका १४ पत्रकारहरू ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल- पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोग तथा नेपाल पत्रकार महासंघको सहकार्यमा पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानबाट  १४ जिल्लाका १४ पत्रकारहरुलाई आइतबार समान प्रदान गरिएकाे छ । गाेरखाका भिमलाल श्रेष्ठ, धादिङका नवराज छत्कुली, काभ्रेका मोतीराम तिमल्सिना, सिन्धुलीका राजकुमार कार्की, रसुवाकी अनुकुमारी आचार्य, काठमाडाैंकी विद्या राई, सिन्धुपाल्चाेककि दुर्गा आचार्य, मकवानपुरकी सम्झना रिजाल, ओखलढुंगाका शिवप्रसाद ढुंगानाहरू सम्मानित भएका छन् ।

यस्तै ललितपुरका रामहरी कार्की, भक्तपुरकी सम्झना पाैडेल, नुवाकाेटकी शर्मिला उप्रेती, दाेलखाकी उषा तामाङ र रामेछापकी जानुका पाैडेल पनि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल– पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । सूचनाको हक कार्यान्वयन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सहजै सूचना पाउन नसके सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गर्न उनले आग्रह गरेे । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कोषाध्यक्ष  किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए ।

Facebook Comments