स्व. किरण रञ्जितको स्मृतिमा सामुहिक चित्रकला प्रदर्शनी

पोखरा । कलाकार स्व. किरण रञ्जितको स्मृतिमा पोखरेली कलाकारहरुले पोखरा आर्ट ग्यालरीमा सृजनशील कलाकार समुह कास्कीले सामुहिक चित्रकला प्रदर्शनी गरेका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका वडा नम्बर ९का वडा अध्यक्ष रामराज लामिछानेले विकास भनेको बाटो, भवन निमार्ण मात्र नभएको बताउदैं कला साहित्यको संरक्षण गर्नु रहेको भन्नु भयो । उहाँले पोखरा आर्ट ग्यालरी महानगरको शोभा भएकोले यसलाई विस्थापन होइन व्यवस्थापन गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

सृजनशील कलाकार समुह कास्कीका अध्यक्ष दुर्गा बरालले स्व. किरण रञ्जितलाई सम्झिदै उहाँ एक दृश्य चित्रकार भएको बताउनु भयो । बरालले स्व. किरणले सृजनशील कलाकार समुह कास्कीको पुर्व अध्यक्ष भएर कला जगतमा उल्लेखनिय योगदान दिएकोे बताउनु भयो ।

वरिष्ठ कलाकार गोपाल श्रेष्ठले सामुहिक चित्रकला प्रदर्शनीले कला जगतलाई चलायमान राख्ने भएकोले बेला बेलामा यस्ता प्रदर्शनी हुनु पर्ने बताउनु भयो । उहाँले ग्यालरी भत्काउने कुराले मन दुखेको समयमा वडा अध्यक्षले व्यवस्थापन गर्ने प्रतिवद्वताले आशा जागेको बताउनु भयो ।

स्व. किरण रञ्जितको श्रीमती समिता रञ्जितले सृजनशील कलाकार समुह कास्कीले गरेको यस प्रदर्शनीले उहाँप्रतिको वास्तविक श्रद्वाञ्जली भएको बताउदैं यस प्रदर्शनीले आफ्नो परिवारजनमा सहानुभुतिको उज्यालो परेको अनुभुति भएको जनाउनु भयो ।

प्रदर्शनीमा ५५ जना कलाकारहरुको चित्रकला राखिएका छन् ।

Facebook Comments Box