स्रोत साधनको उचित व्यवस्थापन गर्न नसक्दा मुलुकले गरिबी व्यहोरिरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताउनुभयो । बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।
यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताउनुभयो । उहाँका अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरके नागरिकले संकल्प गर्नुपर्छ । उहाँले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्ने समेत दाबी गर्नुभयो । उहाँले यस किसिमको अभियान नै चलाउनुपर्ने पनि बताउनुभयो । अभियान निरन्तर गरे प्रत्येक दिन युवा विदेशिनुपर्ने बाध्यताबाट समेत मुक्त हुने बताउनुभयो ।
व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गर्नुभयो । उहाँले व्यक्ति धनी भए राष्ट्र पनि समृद्ध हुने बताउनुहुँदै राष्ट्र समृद्ध भए सबै नागरिक समृद्ध हुने बताउनुभयो । यस किसिमको बहस नभएकाले बहस चलाउन समेत उहाँले आग्रह गर्नुभयो ।

Facebook Comments Box