सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह

पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बर अन्तर्गत निर्वाचित पोखरा महानगर कमिटी तथा इकाईका अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बिउपुँजी संकलन गरेर समुहगत तथा सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह गर्दै एकल भन्दा सामूहिक रुपमा व्यवसायमा जान सुझाव दिनुभयो । अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गर्दै नयाँ प्रविधिमार्फत व्यावसायिक परियोजना गरे केन्द्रले सहयोग गर्ने बताउनुभयो । उहाँले मिल्दोजुल्दो व्यवसाय गर्ने कर्पोरेट कार्यालय खोलेर काम गर्न सुझाव दिनुभयो । अध्यक्ष मल्लले पोखरामा इलेक्ट्रिक सवारी साधनको प्रवद्र्धनका चेम्बरले सहकार्य गर्ने उल्लेख गर्नुभयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले उद्योग व्यवसायको प्रवद्र्धनका लागि स्थानीय प्रशासनले निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनु भयो । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले निजी क्षेत्रका संघ संस्थाहरु एक आपसमा प्रतिस्पर्धी नभएर साझेदार भएको उल्लेख गर्दै उद्योगी व्यवसायीका एजेन्डामा निजी क्षेत्र एक ठाउँमा उभिने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्योग तथा व्यवसाय क्षेत्रका सवाललाई सामुहिक र संस्थागत रुपमा उठाउने प्रतिवद्धता व्यक्त गर्दै संघ संस्थासँग समन्वय र सहकार्य गरेर निजी क्षेत्रको समस्या हल गर्ने बताउनु भयो । उहाँले बैंक व्याज तथा कोभिड १९को कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगेको दाबी गर्नुभयो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष, यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव नवराज आचार्य लगायतले कोभिड १९ले उद्योग व्यवसायमा परेको असरबारे आफ्ना मन्तव्य राखेका थिए ।

Facebook Comments Box