साईकलिष्ट जमुना

पोखरा । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड पर्यटकको लागि हव हो । विभिन्न देशका पर्यटक ठूलो संख्यामा घुम्न आउँछन् । साइकल वा मोटरसाइकल भाडामा लिएर यहाँको सुन्दरता विचरण गर्न निस्कन्छन् । त्यही दृश्य लेकसाइडमा जन्मनुभएकी हुर्कुनुभएकी जमुनाको बालमस्तिष्कमा अमिट छाप बस्यो । साइकल चलाउने रहर पूरा गर्न आमासँग ५ रुपैयाँ मागेर आधा घण्टासम्म भाडामा लिएको साइकल चलाएको उहाँ सम्झनुहुन्छ । स्कुल छुट्टि भएपछि जुम्ल्याहा गंगा–जमुना यसैगरी भाडामा साइकल लिएर टाढाटाढासम्म जान्थे । बावु रामबहादुर र आमा हरिमाया थापाका जुम्ल्याहा दिदीबहिनीमा गंगा होटल म्यानेज्मेन्ट क्षेत्रमा हुनुहुन्छ भने कान्छी जमुनालाई रहरैरहरमा सिकेको साइकलले नामदाम दुवै दिएको छ ।
१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता पोखरेली जमुना बल्ल २३ वर्ष हुनुभयो । तालबाराही माविबाट प्लस टूको अध्ययन पूरा गर्नुभएको उहाँले खेलकुद क्षेत्रमा केही गर्ने लक्ष्य रहेको बताउँनुहुन्छ । जमुुनाले साइक्लिङतर्फ लेडिजको कम सहभागिता रहेकाले नयाँ नयाँको लागि प्रेरणा मिल्ने भएकोले यसैमा लागेको बताउनु भयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको उहाँले बताउनु भयो ।


गोरखामा हालै आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) प्रतियोगितामा जमुनाले भाग लिनुभएको थियो । प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक विजेता उहाँ २०७७ मा आयोजित प्रथम त्रियुगा खेलकुद महोत्सवमा रजत पदक विजेता पनि हुनुहुन्छ । जमुना पौडी खेलाडी पनि हुनुहुन्छ । पोखरामा भएको आठौं राष्ट्रिय ट्राइथलन–२०७५ मा उहाँले कास्य पदक जित्नुभएको थियो । गण्डकी बोर्डिङ स्कुलमा स्वीमिङ लाइफगार्ड तथा कोच उहाँ लकडाउन अघिसम्म साइकल टुर्स एण्ड ट्राभल्समा काम गर्नुहुन्थ्यो । माउन्टेन बाइकमै मनाङ र जोमसोमको टूर गरेकी उनी एकै दिनमा ८० किमीसम्म पार गरेको बताउनुहुन्छ ।

Facebook Comments Box