सप्तरंगी प्रतिभाको खोजी सम्पन्न, गायनमा अरुण सुनार र नृत्यमा तनहुँको कौडा प्रथम


पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसङ्गको सहकार्यमा सप्तरंगी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित”सप्तरंगी प्रतिभाको खोजी-२०७७” एकल खुल्ला गायन‌ प्रतियोगिता तथा सामूहिक लोक नृत्य प्रतियोगिता‌ पोखरा उधोग वाणिज्य संघको‌ सभा हलमा शुक्रबार सुसम्पन्न भयो । 
संस्थाका कार्यबाहक अध्यक्ष खिमकुमार गुरुङको सभापतित्वमा संस्थाका महासचिव मनकुमार श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ‌ प्रमुख अतिथि रहनु भएको थियो । 
प्रमुख अतिथि गुरुङले कार्यक्रम उद्घाटन र सम्पूर्ण प्रस्तुति अवलोकनपछि अाफ्नाे प्रमुख अतिथीय मन्तब्य ब्यक्त गर्दै सिमानाले देश सानो भए पनि र अवस्थाले देश गरिब भए पनि कला र संस्कृतिले हाम्रो देश बिशाल र हामी धनि छौ भन्ने ‌अाजको यो‌ प्रस्तुतिहरुले प्रमाणित गरेको बताउनुभयो । प्रदेश सरकारले छुट्टाएको सानो रकमले यति‌ विशाल कार्यक्रमको‌ आयोजना गरेकोमा आयोजक संस्था सप्तरंगी सास्कृतिक प्रतिष्ठानलाई‌ कृतज्ञत ब्यक्त गर्नुभयो ।
“सप्तरंगी प्रतिभाको खोजी-२०७७” एकल खुल्ला गायन‌ प्रतियोगिताका लागि विभिन्न चरणको कडा प्रतिस्पर्धाबाट अन्तिम चरणको फाइन‌ राउण्डका लागि १२ जना छनौट गरिएको थियो ।‌ तिनै १२ जना बीचको प्रतिष्पर्धाबाट पर्वतका अरुण सुनारले दर्पण राइको शब्द र टंक बुढाथोकीको संगीतमा रहेको “तिम्ले बाटो फेरेयौ अरे” बोलको गीत गाएर “सप्तरंगी प्रतिभाको खोजी २०७७” को प्रथम बिजेताको‌ उपाधि हात पार्न सफल भए ।
त्यसैगरि कास्कीकी संगीता गायक द्वितीय, म्याग्दीका राम घर्तिमिरे तृतीय र बाग्लुङका जीवन बिश्वकर्मा सान्त्वना भए । जसमा प्रथम पुरस्कार पचास हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी, द्वितीय पुरस्कार २५ हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी, तृतीय पुरस्कार १५ हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी र सान्त्वना पुरस्कार सात हजार पाँचसय, प्रमाण पत्र र ट्रफी रहेको थियो । साथै अन्य सहभागी प्रतियोगीहरुलाई दुई दुई हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो । यस गायन कार्यक्रमका लागि निर्णायकहरुमा संगीतकार बिबि अनुरागी, गायक बिनोद बानियाँ र गायिका अजुदा थापा रहनु भएको थियो ।
त्यसैगरि सामूहिक लोक नृत्य प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका १२ टिमले सहभागिता जनाएका थिए । यिनै १२ टिमको प्रतिष्पर्धाबाट सामूहिक लोकनृत्य प्रतियोगिताको‌ प्रथम‌ पुरस्कार नेपाल मगर बिद्यार्थी संघ तनहुँले हात पारेको छ । तनहुँको बिशेष चिनारी कौडा नृत्यद्वारा यो पुरस्कार प्राप्त गरेका हुन् । जसको पुरस्कार राशी नगद एक‌ लाख, ट्रफी र प्रमाणपत्र रहेको थियो । 
प्रतियोगितामा म्याग्दीको लालिगुँरास पुन मगर समाजले प्रस्तुत गरेको थाली नृत्य द्धितीय, कास्की सिक्लेस पार्चेको रोधी नृत्य तृतीय र बिटुडि डान्स स्कुल कास्कीको झ्याउरे नृत्यले सान्त्वना स्थान प्राप्त गर्‍यो । द्वितीय हुनेले पचास हजार, तृतीय हुने टिमले पच्चीस हजार र सान्त्वना हुने टिमले १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका अलावा फाइनलिष्ट सबै टिमलाई नगद पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । यसका लागि निर्णायकहरुमा नृत्य निर्देशकहरु गम्भीर बर्देवा, धनबहादुर गुरुङ, गमबहादुर गुरुङ र राज बहादुर गुरुङ रहनुभएको थियो ।
दुलही जस्तै झकिझकाउ मन्चमा विभिन्न सँस्कृतिमूलक नृत्यले कार्यक्रमको‌ रौनकता नै छुट्टै बनेको थियो ‌। बिशेष गरि पोखरा र पोखरेली मन्चका लागि थारु नाच नौलो‌ र फरक स्वाद बनेको थियो । ताकि दर्शकबाट प्राप्त ताली र हुटिङले कलाकारहरु निकै हौसिएका थिए ‌ ।
कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठानका पधाधिकारी सम्मान र संस्थाका नयाँ आजीवन सदस्यहरुलाई‌ सदस्यताको‌ प्रमाण पत्र सोही समारोहमा प्रदान गरिएको‌ थियो ।

Facebook Comments Box