शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहँु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहूँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम मंगलबार वडा नम्बर ३ स्थित जनजागृती माविमा सम्पन्न भयो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा सम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने र सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा भानु नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक श्रीकृष्ण त्रिपाठीले नगरपालिकाले चालु शैक्षिक सत्रमा सन्चालन गरेको शिक्षा सम्बन्धि नीति, शैक्षिक कार्यक्रम र शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले नगरपालिकाले नीति तथा योजना निर्माण गर्दा शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । संविधानले समेत शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भयो ।
नगरपालिकाले शिक्षाको क्षेत्रमा राम्रा योजनाहरु ल्याएपनि कार्यान्वयनको भने अभाव भएको उहाँको भनाई थियो । दिवा खाजा, छात्राहरुलाई सेनेटरी प्याड, स्थानीय पाठ्यक्रमको निर्माणका विषयहरु नीति तथा कार्यक्रममा उल्लेख भएपनि कार्यान्वयनमा भने समस्या भएको उहाँको भनाई थियो । त्यस्तै विद्यालय क्षेत्र जंकफुड मुक्त गराईएको पनि उहाँको भनाई थियो ।
५७ वटा सामुदायीक विद्यालय रहेको भानु नगरपालिकाले चालु आर्थिक वर्षमा ५ वटा सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा सन्चालन गरेको, स्थानीय मातृभाषामा पाठ्यक्रमको निर्माण गरिएको, प्रत्येक आधारभुत विद्यालयमा इन्टरनेट जडान, प्राविमा कम्प्युटर र प्रिन्टरको व्यवस्था, बैकल्पिक शिक्षण विधिको विकास तथा कक्षा कोठाको व्यवस्थापन र स्तरोन्नतीको कार्यक्रम सन्चालन भईरहेको त्रिपाठीले जानकारी दिनु भयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वमबहादुर गुरुङले सबैको प्रयत्न र समन्वयमा विद्यालयलाई नमुना बनाईने बताउनु भयो । उहाँले भौतिक पुर्वाधारको निर्माण, शिक्षक दरबन्दी मिलान जस्ता विषयमा नगरपालिकाले विशेष चासो दिनु पर्ने बताउनु भयो । विद्यालयका प्रअ विष्णुप्रसाद न्यौपानेले नगरपालिकाले सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयलाई धेरै माया गरेको आरोप लगाउनु भयो । उहाँले इन्सेकको बालअधिकार कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनु भयो ।
मानवअधिकार समुह भानु नगरपालिकाका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिनोद श्रेष्ठ, छात्रा बिन्दु परियार लगायतले शिक्षाको महत्वको बारेमा मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमको सहजिकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नु भएको थियो ।

Facebook Comments Box