शिक्षक संगठनको निशुल्क शैक्षिक कार्यक्रम पाँचौँ हप्तामा

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की सिकाइ केन्द्रद्धारा सन्चालित लर्निङ सेन्टरमा कक्षा १० का विद्यार्थीका लागि निशुल्क कक्षा सञ्चालन भइरहेको छ । संगठनको विद्यार्थीसँग शिक्षक संगठन कार्यक्रम अन्तर्गतको शैक्षिक कार्यक्रममा देशभरका दुई सय बढी विद्यार्थी दैनिक सहभागी भइरहेका छन् ।

कक्षा सञ्चालनको पाँचौँ हप्ता सोमबार अनिवार्य नेपाली विषयमा श्री सिद्ध मा वि पोखरा १५ की सहायक प्रधानाध्यापक तथा सञ्चारकर्मी जुना थापाले सहजीकरण गर्नुभएको आइ सिटी व्युरो तथा कार्यक्रम संयोजक दामोदर तिमिल्सिनाले जानकारी दिनुभयो । कक्षा १० का अनिवार्य ५ विषयहरु नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको अध्यापनका लागि विषय शिक्षकहरुको अनलाइन फारम भरेर उत्कृष्ठ छनोट भएका देशभरका १८ जना शिक्षहरुबाट सिकाइ सहजीकरण भइरहेकोे संयोजक तिमिल्सिनाले बताउनुभयो ।

संगठनको विद्यार्थीसँग शिक्षक कार्यक्रम अन्तर्गत पहिलो चरणमा राष्ट्रव्यापी अनलाइन वक्र्तृत्वकला प्रतियोगिताको अपार सफलतापछि दोस्रो लहरको लकडाउनमा पुनः यो शैक्षिक कार्यक्रम ल्याएको संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा सामुदायिक विद्यालयको शैक्षिक अन्योलतालाई चिर्न संगठनले जिम्मेवारी बोध गरेर पुनः निशुल्क शैक्षिक कार्यक्रम ल्याएको पौडलले बताउनुभयो ।

संगठन कास्कीका सचिव तीर्थ ढकालले हरेक आइतबार अङ्ग्रेजी, सोमबार नेपाली, मंगलबार गणित, बुधबार विज्ञान र बिहिबार सामाजिक अध्ययन विषयको पढाइ भइरहेकोले मुलकभरका विद्यार्थीहरुले निशुल्क रुपमा मौकाको फाइदा उठाउन आग्रह गर्नुभयो । यो शैक्षिक कार्यक्रम हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुमको माध्यमबाट हुने ढकालले जानकारी दिनुभयो ।

गतसाल पनि संगठनले देशव्यापी रुपमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गरी प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, १० हजार र सान्त्वना हुने ७ जनालाई २।२ हजार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो ।

Facebook Comments Box