वसन्त पराजुलीको कुमाता कथासंग्रहमाथि पोखरामा विमर्श

पोखरा । गीताञ्जली साहित्य परिवारले शनिबार पोखरामा वसन्त पराजुलीको कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताउनु भयो । उहाँले कथासंग्रहले वर्तमान समाजलाई प्रतिविम्बित गरेको उल्लेख गर्नु भयो ।
सह प्राध्यापक पुन्यप्रसाद शर्माले कुमाता कथासंग्रहमा आख्यानकारले नेपाली समाजलाई जीवन्त रुपमा उतार्ने प्रयास गरेको उल्लेख गर्दै पत्रकार समेत रहेका लेखकले पत्रकारिता गर्ने सवालमा देखेका र भेटेका सामाजिक सवाललाई कथा मार्फत उजागर गरेको टिप्पणी गर्नु भयो ।
उप प्रध्यापक गीता पौडेलले कुमाता कथासंग्रहका कथाहरू सत्यसंग नजिक रहेकाले पनि कथा पढ्दा हृदय छोएको अनुभुति हुने वताउनु भयो । नारी प्रधान विषयवस्तु र नारी मनोविज्ञानमा आधारित भएर लेखिएका कथाहरुले नेपाली साहित्यका लागि विद्रोह र नयाँपन दिएको उहाँको भनाइ थियो ।
कथासंग्रहमाथि उठेका प्रश्नको जवाफ दिदै सर्जक वसन्त पराजुलीले महिलाहरु किन कुमाता वन्न वाध्य छन् त ? भन्ने विषयमा सामाजिक बहस आबश्यक रहेको वताउनु भयो । उहाँले सामाजिक सवाललाई लेखकीय क्षेत्रबाट उठान गरेको भन्दै समाजमा कोहि पनि महिला कुमाता वन्ने परिस्थिति नआओस् भन्ने तर्फ सबै सरोकारवाला सचेत हुनुपर्नेमा समेत जोड दिनु भयो ।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिव प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार बद्री विनोद प्रतीक, गंगाधर पराजुली , क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे गण्डकी प्रदेश समितिका अध्यक्ष सरिता तिम्सिना पगेनी, साहित्यकार मदन भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

भुँडीपुराण प्रकाशन प्रकाशक रहेको कथासंग्रहमा पत्रकार ,कुमाता,सन्यास,छापामारको प्रेम,परिवन्द,अस्मिता ,नियति ,उकुच,दसै,र दोषी को ? गरि १० वटा कथा समाबेश छन्।

Facebook Comments Box