रोटरी क्बल लेकसाइडको छैटौं पदस्थापना

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको छैटौं पदस्थापनबाट वर्ष २०२१÷२२ अध्यक्ष हुमबहादुर आलेले पदभार ग्रहण गर्नु भएको छ ।
रोटरी इन्टरनेशनलका असिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले उहाँलाई आगामी सन् २०२१÷२२ का शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराउनु भएको हो । यस्तै आइपिपि अर्जुनप्रसाद खनालले चार्टर सर्टिफिकेट तथा पिन प्रदान गर्दै सफलताको कामना गर्नुभयो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्यक्रम उद्घाटन गर्दै रोटरीको सामाजिक कार्यको प्रशंसा गर्नुभयो । उहाँले प्रदेशको विकास र समुन्नतिको लागि रोटरियनको साथ र सहयोग आवश्यक हुने बताउनुभयो ।
असिस्टेन्ट गभर्नर पोखरेलले नेपालका रोटरीमध्ये रोटरी लेकसाइडको कार्यको उच्च मूल्यांकन गरिएको भन्दै अझ सफलताको कामना गर्नुभयो ।
आइपिपि अर्जुनप्रसाद खनालले कोरोना महामारीको विषम परिस्थितिबीच आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । १ वर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै उहाँले सहयोगीलाई मायाको चिनो प्रदान गर्दै उत्कृष्ट सदस्यको रुपमा कृष्णबहादुर थापालाई सम्मान गर्नुभयो ।
गभर्नरका स्पेसल प्रतिनिधि विनोद कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गर्नुभयो ।
क्लब डाइरेक्टर तथा क्लबले निर्माण गर्न लागेको किड्नी केयर सेन्टर निर्माण समिति संयोजकसमेत रहेका कृष्णबहादुर थापाले सोको लागि आवश्यक गर्न सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले पाोखरा ७ मा बन्न लागेको किड्नी केयर सेन्टरमा हालसम्म कार्यालय र ल्याब गरी ४५ लाख रुपैयाँ खर्च भइसकेको बताउनुभयो ।
यस्तै, वर्ष २०२१÷२२ का अध्यक्ष हुमबहादुर आलेको परिचय क्लब मेन्टर राजेन्द्र लिगलले गराएका थिए ।


अध्यक्ष आलेले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गर्दै बोर्ड अफ डाइरेक्टरलाई पिन प्रदान गर्नु भएको थियो ।
सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरिएको थियो । स्मारिकामा क्लबको गतिविधि, पठनीय लेखरचना तथा सदस्य र तिनका परिवारका सदस्यको विस्तृत परिचय समेटिएको क्लब एडिटर सुभाष मल्लले बताउनुभयो ।
कार्यक्रममा स्वागत पास्ट प्रेसिडेन्ट घराना थकाली, सञ्चालन सचिव राजन कुमाल र धन्यवाद ज्ञापन ऋषिराम सापकोटाले गर्नु भएको थियो । क्लबमा हाल ४८ सदस्य रहेको सर्जेन्ट एट आर्मस् विश्वदर्शन पराजुलीले बताउनुभयो ।
कार्यक्रममा क्लब सदस्यसमेत रहेका गण्डकी प्रदेशका न्यायाधिवक्ता रोहितराज बास्तोला, क्लब पदाधिकारी, सदस्य, विभिन्न क्लबका प्रतिनिधि लगायतको सहभागिता थियो ।

Facebook Comments Box