राजनीतिको खोल ओढेका अराजक बिद्यार्थीहरुले शिक्षकलाई कालोमोसो दलेर कुटे

पोखराः कलिला मस्तिष्कमा ज्ञानको ज्योति बालेर उज्यालो भविष्य बनाउन मद्दत गर्ने हुनाले गुरु अर्थात शिक्षकलाई नेपाली समाजमा परम्परादेखि नै गुरुदेव भव भन्दै गहिरो मान, सम्मान गर्ने चलन छ ।
गुरुले पनि बिद्यार्थीहरुको उज्वल भविष्यका लागि व्यक्तिगत सुख, सयल त्यागेर दिनरात मेहनतपूर्वक ज्ञान, सिप दिएर हरेक समस्याहरुसँग सामना गर्न सक्ने सक्षम नागरिक बनाउने दायित्व र कर्तव्य बोकेका हुन्छन ।
जव उज्यालो देखाउने गुरु व्यक्तिगत स्वार्थ, लोभमा फँसेर बाटो बिराएर गलत काम गर्छन बिद्यार्थीहरुले सही मार्ग भेट्न सक्दैनन । भविष्य अन्धकार बन्न जान्छ। गुरु र बिद्यार्थी जव दुबैले गलत बाटो समात्छन, तव शिक्षा क्षेत्रमा बनाईएका मुल्य र मान्यता दुबै भत्कन पुग्छ । अझ राजनीतिक दलको झण्डा बोकेर बिद्यार्थीको आवरणमा बस्ने कार्यकर्ताहरुले उपद्रो मच्चाउने चलन नेपालमा नौलो होइन ।
बिद्यालयमा तोडफोड गर्नु, शैक्षिक संस्था र व्यापारीहरुसँग चन्दा असुली गर्नु, शैक्षिक बातावरण धमिलो बनाउनु, नाराजुलुस निकाल्नु, कुटपीट र आक्रमण गर्नु दलको झण्डा ओढेका बिद्यार्थीहरुको धन्धा नै हो ।
पर्यटकिय नगरी पोखराको छोरेपाटनस्थित छोरेपाटन माविमा शिक्षकले गल्ती गरेको आरोप लगाउँदै एक हुल दलका कार्यकर्ताहरुले बिद्यार्थीको नाममा गरेको हर्कतले गुरु र बिद्याथीवीचको माया, सद्भाव, बिश्वास भत्काएको छ । आपसि बैमनस्यता सिर्जना गरेको छ ।
छोरेपाटन माध्यमिक विद्यालय पोखरा–१७ का एकजना शिक्षकलाई हालै विद्यार्थीले कालोमोसो दलेका छन् । कक्षा ११ का विद्यार्थीलाई परीक्षाका नाममा रकम असुल्ने र झुक्याउने काम गरेपछि आक्रोशित विद्यार्थीले शिक्षक उपेन्द्रराज पोखरेललाई कालोमोसो लगाएको दावी गरेपनि यसरी कानुन हातमा लिएर अराजक हतकण्ठामा उर्तने अधिकार कसैलाई छैन । एउटाले गल्ती गरेभन्दैमा अर्कोले पनि उस्तै खालका गल्ती गरेमा समाजमा अराजकता बढेर वेथिति र काटमार मौलाउँदै जान्छ ।
विज्ञान संकायतर्फका गणित विषयमा आंशिक परीक्षा दिने विद्यार्थीलाई पास गरिदिने भन्दै रकम लिएर ट्युसन र परीक्षा लिएका शिक्षक पोखरेललाई नेपाल विद्यार्थी संघ कास्की र अखिल क्रान्तिकारी कास्की लगायतको उपस्थितिमा विद्यार्थीले कालोमोसो लगाएका हुन् । ती शिक्षकले ६ दिन पढाएको पाँच हजारका दरले पैसा लिएका थिए । ती शिक्षकले लिएको परीक्षाका विषयमा विद्यालय प्रशासनलाई केही थाहा नभएको र रकम लिएर झुक्याउने काम शिक्षकले गरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएर कक्षा ११ का गणित विषयका शिक्षक पोखरेललाई कालोमोसो लगाएका हुन् ।
शिक्षकले लिएको परीक्षा हो, शिक्षक र विद्यार्थी विचमा के–के भयो त्यो हामीलाई पनि थाहा भएन, ‘विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालले भने ‘पछि एकैचोटी मिडियासहित बाहिरका विद्यार्थी पनि आएर के–के हल्ला गरेका छन् थाहा छैन । हामी अन्यौंलमा नै छौं ।’
छोरेपाटन माविमा उपस्थित अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला ‘मार्शल’ले शिक्षाका नाममा गलत धन्दा र कामहरु गर्ने जो कोहीलाई पनि बाँकी नराख्ने बताए । ‘शैक्षिक क्षेत्रमा देखिएका यस्ता धेरै विकृतिहरुलाई निमिट्यान्न पार्न आवश्यक परेमा जनकारवाहीसम्मको तहमा हामी उत्रिन पछि पर्दैनौं,’ उनले भने ।
नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेलले परीक्षाका नाममा हुने गलत कार्यहरुका लागि सम्बन्धित विद्यालयका केन्द्राध्यक्षले समेत नैतिक जिम्मेवारी लिनु पर्ने र यस्ता घटनाहरुमा संलग्नलाई राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखराले तत्कालै कारवाही गर्नुपर्नेमा जोड दिए ।
छोरेपाटनमा भएको यस घटनाका विषयमा विद्यालयमा नैं छलफल गर्दै नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेल, नेविसंघका नेताहरु गौरव बराल र सुशान्त पौडेल, नेविसंघ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सभापति शिवम् शाही ठकुरी लगायतले शिक्षक पोखरेलले विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्नुपर्ने र विद्यालय प्रशासनले वैधानिक रुपमा कक्षा ११ को आंशिक परीक्षा लिनु पर्नेमा जोड दिएका छन ।
आडैको छोरेपाटन
चौकी वेखबर १
छोरेपाटन माध्यमिक विद्यालयमा विहान १० बजेदेखि नै विद्यार्थीहरुले हल्लाखल्ला गर्दै शिक्षक उपेन्द्रराज पोखरेललाई कारवाही गर्नुपर्ने माग गरिरहेका थिए । सो विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका नेता प्रकाश बाँस्तोला र नेपाल विद्यार्थी संघका निर्दोषविक्रम पौडेल लगायतका आधा दर्जन विद्यार्थी नेताहरु पनि सहभागी थिए ।
सयौं विद्यार्थीको माझमा मिडियामा ती विद्यार्थी नेताहरुले शैक्षिक क्षेत्रमा गलत कार्य गर्नेलाई जनकारवाही गर्नेसम्मको चेतावनी दिदाँ नजिकैको छोरेपाटन प्रहरी चौकी भने वेखबर थियो । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका आधा दर्जन भन्दा बढि नेताहरु आएर कार्यक्रममा बोलिरहँदा यसको सुईकोसम्म १०० मिटर पर रहेको प्रहरी चौकीले पाउन सकेन । घण्टौंसम्म विद्यालय भित्र बसेर छलफल गरी मुख्यगेटबाट नै ती विद्यार्थी नेताहरु बाहिरिएका थिए ।
अखिल क्रान्तिकारीका नेता प्रकाश बाँस्तोला ः छोरेपाटन माध्यमिक विद्यालयमा विहान १० बजेदेखि विद्यार्थीहरुले विरोध गरेपछि प्रतिबन्धित अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला लगायतका आधा दर्जन विद्यार्थी नेताहरु छलफलका लागि उपस्थित भएका थिए ।
छलफलमा यसरी शिक्षकले परीक्षामा पास गरिदिन्छु भन्दै रकम असुलेर ट्युशनका नाममा परीक्षामा सोधिने प्रश्नपत्र नै पढाउने, विद्यालय प्रशासनलाई खबरै नगरी परीक्षा लिने लगायतका घटनाले शैक्षिक क्षेत्रमा विकृति झनै मौलाउँदै गएकोले यसको अन्त्यका लागि लडिरहने विद्यार्थी नेताहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।
साभारः बाघपाइला साप्ताहिक पत्रिका