यिनैको हातमा सत्ता सुम्पिने तिमी–हामीहरू नै हैनौँ र ?

एउटा अर्को रक्तिम क्रान्ति !!!
लक्ष्मी मिश्र:-
आँखामा पर्दा लागेछ क्यारे
विचारहरू धमिराले खाएछन्,
विवेकमा ऐँजेरू पलाएछ क्यारे
सद्बुद्धिमा बिर्को लागेछ,
अन्ततः खिया लागेर मुटु नै स्थिर भएछ,
ढुंगा–माटो भएछ ।
घोच्दैन तिनका छातीभित्र
आफ्नी आमाको कोख रित्याएर
अर्धाङ्गिनीको सिउँदो पुछेर
कलिला नानीहरूलाई टुहुरा बनाउँदै
यही देशका लागि बलि चढेका
वीर सपुतहरूको ज्यूँदो इतिहासले,
दुख्दैन यिनको छातीभित्र
आँखैसामु बलात्कृत छोरीहरूको वेदनाले
देश त झन् कहाँ दुख्थ्यो र !
लाग्दैन सङ्कोच अलिकति पनि
भ्रष्टाचारको गद्दीमा बसेर
कर्मजीवी जनतालाई झुटका पुलिन्दा बाँडेर
लगाएर अघोषित श्रीपेच
मस्तीसँग काँजु–बदाम चपाउँदै
धोकापूर्ण राजनीतिको बागचाल खेलिरहन
हो, लिप्त भैसके यी आफ्नै स्वार्थमा
असक्त भइसके दुनियाँसामु
भिखारी भइसके ।
यिनैको हातमा सत्ता सुम्पिने
तिमी–हामीहरू नै हैनौँ र ?
ए ! अब नदिऊँ–
बाँदरको हातमा नरिवल,
उठौँ फेरि गरौँ बरु–
एउटा अर्को रक्तिम क्रान्ति
जसले उखेलोस् कागजी तानाशाहका जुँगाहरू
बहिष्कार गरिदिऊँ सारा झुटा सपनाहरू
र, खोजी गरौँ एक सतपात्रको
सुम्पिऊँ उसैको हातमा सत्ताको बागडोर !
-०-

Facebook Comments