मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत, ३ दिनभित्र सरकार गठन गर्न दलहरुलाई आव्हान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पदबाट दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमूख सीता कुमारी पौडैलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा मुख्यमन्त्री गुरुङको सरकारविरुद्ध नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसउपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिनुभएको हो ।
माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका गुरुङ ती पार्टीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा हुनुहुन्छ । यद्यपी अविश्वासको प्रस्तावमा जनमोर्चाले हस्ताक्षर गरेको छैन् ।
प्रदेशसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति र समय तोक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले नेता तथा मुख्यमन्त्री गुरुङले आज पदबाट राजिनामा दिनुभएको हो । गण्डकी प्रदेश प्रमूखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनको आव्हान गरिएको छ ।
मुख्यमन्त्री गुरुङले नेपालको सविधानको धारा १६९को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमूख समक्ष राजिनामा दिनुभएको हो ।
प्रदेशमा अर्को मन्त्रीपरिषद गठन नभएसम्म नेपालको संविधान को धारा १६९ को उपधारा (३) बमोजिम गुरुङको नेतृत्वको मन्त्रीपरिषदले कार्य संचालन गर्ने प्रदेश प्रमूखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

Facebook Comments Box