मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला

पोखरा । पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उहाँलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला हाल आदर्श समाज दैनिकका सम्पादक हुनुहुन्छ ।
उहाँले २०५८ सालमा अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गर्नु भएको थियो । सुरुआतमा काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उहाँ २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको व्यूरो चिफ सम्हाल्न आइपुग्नु भएको थियो । त्यस्तै २०७२ सालदेखि समाधान दैनिकमा आबद्ध उहाँ त्यहाँ रहँदा कार्यकारी सम्पादकको भूमिकामा रहेकोमा गत वर्ष पुसदेखि आदर्श समाजमा आबद्ध हुनु भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उहाँ संसदीय मामलाका जानकार मानिनुहुन्छ । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष कोइरालाले भद्रकाली मावि, कुँडहरमा पत्रकारिता प्राध्यापनसमेत गर्नुहुन्छ । स्याङ्जाको पुतलीबजार वडा १३ का स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आउनु भएको छ ।
गत जेठ २९ मा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गण्डकीमा नयाँ सरकार आएको हो ।

Facebook Comments Box