मुक्तकमणि तीर्थराज अधिकारी प्रकाशित

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको ‘साधनाको स्वर्णवर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ कृति प्रकाशन भएको छ ।

अनेसास केन्द्रीय कार्य समितिले अधिकारीको साधनाको ५० वर्ष पुगेको सन्दर्भ पारेर उहाँ बारेमा आजसम्म भए गरेका अनुसन्धान र लेखिएका आलेख मध्ये उत्कृष्ट रचनालाई एकीकृत गरी कृति प्रकाशन गरेको हो ।

साधक, समाजसेवी र सङ्गठकको छवि बनाएका अधिकारीका बारेमा हालसम्म लेखिएका मध्ये उत्कृष्ट रचनालाई सङ्कलन गरी कृति प्रकाशन गरिएको छ ।
अधिकारीका बारे ५० वर्षसम्म लेखिएका रचनालाई शोध अनुसन्धान, जीवनी र व्यक्तित्व, कृति विवेचना र प्रवृत्ति, संस्मरण र अनुभूति, संवाद, अंग्रेजी साधना र परिशिष्टलगायत विभिन्न सात खण्डमा विभाजन गरी कृतिलाई पूर्णता दिइएको छ ।
चार सय ८० पृष्ठमा संरचित कृति हार्ड कभरका लागि एक हजार एक सय, सादा कभरका लागि पाँच सय ५० रुपैयाँ र विदेशमा २५ डलर मूल्य राखिएको छ ।

२००३ कार्तिक ३० गते पिता नारायणदत्त र माता रूक्मिणा अधिकारीको कोखबाट लमजुङ चन्द्रेश्वर–७, दुराडाँडामा जन्मेका अधिकारी २०२६ सालदेखि निरन्तर साधनामा क्रियाशील हुनुहुन्छ ।

दर्जनको संख्यामा काव्यकृति प्रकाशन गरेका अधिकारीका जूनकीरी (कविता–२०५३) ऐना (कविता–२०५७), तीनलय तेह्रगीत (२०६०) झटारो (मुक्तक–२०७०) यो कसको हात हो ? (कविता–२०७०) झटारो (अङ्ग्रेजी मुक्तक–२०७२) बिरिमफूल (मुक्तक–२०७३), लमजुङको सम्झना (भीसीडी), माया (आधुनिक गीतिएल्बम–२०७४) र जूनका टुक्राहरु (अङ्ग्रेजी–नेपाली मुक्तक–२०७७) प्रकाशन भइसकेका छन् ।

गोर्खा दक्षिणबाहु लगायत दर्जन बढी सम्मान पुरस्कारबाट विभूषित अधिकारी नेपाली मुक्तकलाई अङग्रेजीमा प्रकाशन गर्ने प्रथम प्रयोक्ता हुनुहुन्छ । नेपाली मुक्तकको उज्यालोलाई विश्व साहित्यमा पु¥याएको योगदानको कदर गर्दै अनेसासले उहाँलाई मुक्तकमणि उपाधि प्रदान गरेको थियो ।

केन्द्रीय समितिले ग्रन्थ सम्पादनका लागि अनेसास गण्डकी समितिका महासचिव असफल गौतम र सदस्य कल्याण पन्तलाई सम्पादक मनोयन गरेको थियो ।

स्याङ्जामा जन्मेर पोखरालाई कर्मथलो बनाएका असफल दुई दशकदेखि साधनामा क्रियाशील हुनुहुन्छ । यस्तै लमजुङका पन्त त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसँगै साधनामा क्रियाशील स्रष्टा हुनुहुन्छ ।

Facebook Comments Box