महिला मानव अधिकार रक्षक कास्कीमा इन्द्रकुमारी

पोखरा । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा इन्द्रकुमारी शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
कास्कीको १३ औ साधारण सभा तथा नवौँ अधिवेशनले शर्माको नेतृत्वमा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा केशु भुजेल, सचिवमा शारदा खत्री, सहसचिवमा विना पुन र कोषाध्यक्षमा भिमा पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै सञ्जालको सदस्यहरुमा ज्ञानुसरा थापा, मिना थापा, सरस्वती कार्की, प्रमिला श्रेष्ठ, इन्दीरा तिवारी, मिना पाण्डे, मञ्जु नेपाली, नाजवुन निशाखान, शान्ति थाउबब मगर, पवित्रा गुरुङ, रविना श्रेष्ठ, क्षमता खड्का, गुना गुरुङ र इन्दीरा पौडेल चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष शर्माले महिला अधिकार स्थापितका लागि संविधानले प्रदान गरेको महिला अधिकारलाई स्थापित गर्न आफू नेतृत्वको समिति लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले पछिल्लो समय महिलाहरु जागरुक भएर अगाडि आइरहे पनि अझै आफ्नो अधिकारलाई पूर्ण रुपमा उपभोग गर्न नपाएको बताउनुभयो । महिलाको विकासको लागि सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक सबै पक्षबाट सशक्त हुन जरुरी रहेको जनाउँदै महिलाले शिक्षा र आर्थिक पक्षमा पनि जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालका संविधानले महिलाका धेरै अधिकार स्थापित गरेको उल्लेख गर्दै अब महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्ने समय आएको बताउनुभयो ।

संस्थाका निर्वतमान अध्यक्ष तारामाया थापा मगरले कोभिड १९ को असहज परिस्थितीमा पनि विभिन्न संघ संस्थासँगको सहकार्यमा महिला अधिकार, मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य लगायतका जनचेतना र क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्न सफल भएको बताउनुभयो ।
सो अवसरमा संस्थाका सल्लाहकार एवम् पूर्वअध्यक्ष न्यायधिश सरला पाण्डे, वेपत्ता छानबिन आयोगका सदस्य सरीता थापा सहित विना सिलवाल, जुना गुरुङ, नन्दकला नेपाली, जानकी शर्मालाई संस्थागत विकासमा योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको थियो ।कार्यक्रममा सचिव केशु भुजेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विना पुनले आर्थिक पेश गर्नुभएको थियो ।

Facebook Comments Box