मन्त्रिपरिषद् विस्तारसंगै गण्डकी सरकार पूर्ण

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मन्त्रीपरिषद् विस्तारसंगै सरकारले पूर्णता पाएको छ । थपिएका ६ जना मन्त्रीहरुले शुक्रबार शपथ लिनुभएको छ । उहाँहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराउनु भयो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द)का रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भूसंरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोला, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, प्रदेश सरकारका सचिवलगायतको उपस्थिति थियो । यसअघि मुख्यमन्त्री पोखरेलले कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । खड्का भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था, आचार्य ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालय, अधिकारी स्वास्थ्य तथा जनसङ्ख्या र गुरुङ युवा तथा खेलकूदमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

Facebook Comments Box