मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने ः डा शेखर कोइराला

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो ।
डा. शेखर कोइरालाले मुलुकको परिस्थिति अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले पुस ५ गते संसद विघटन गर्ने निणर्यसंगै बिग्रिएको राजनीतिक परिस्थिति अझै सुधार नहुनु, माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन अझै फिर्ता नलिनु, नयाँ सरकारका लागि जनता समाजवादी पार्टीमा विवाद आउनु, संसद अनिणर्यको बन्दी हुनुले मुलुक निकै जटिल मोडबाट गुज्रिएको बताउनुभएको हो ।
सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिणर्यको बन्दी बनेको दाबी गर्दै उहाँले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूणर् रहेको बताउनुभयो ।
सरकारले विजनेश नदिएकाले संसद् अनिणर्यको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूणर् रहेको कोइरालाको भनाइ छ । कांग्रेसका लागि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्वपूणर् र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पार्नुभयो ।
नेपाली राजनीतिज्ञमा नैतिकताको खडेरी देखिएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक इमान्दारिता र नैतिकता कत्ति पनि नभएको आरोप लगाउनु भयो । प्रधानमन्त्रीले राजीनामा नदिनु, सरकारले विजनेश दिन नसक्नु, सभामुखले उपसभामुख नियुक्ति लगायतका काममा केही गर्न नसक्नु झनै विडम्वना भएको नेता कोइरालाले बताउनु भयो ।
नेता कोइरालाले देशको यो विषम परिस्थितिलाई कांग्रेस टुलुटुलु हेरेर बस्न नहुने र अब जतिसक्दो छिटो निकास दिनुपर्नेमा जोड दिनुभयो । पार्टीको महाधिवेशन, नयाँ सरकार गठनसंगै चुनावतर्फ लाग्नुपर्नेमा जोड दिंदै उहाँले यसका लागि पार्टीको नेतृत्व अग्रसर हुनुपर्ने बताउनु भयो ।
नेता कोइरालाले जनता समाजवादी पार्टीका एक खेमा वर्तमान प्रधानमन्त्रीसंग नजिक हुन खोज्नु दुःखद् भएको भन्दै यति सहकार्य भएर ओली सरकारलाई टिकाउने प्रयास भए मुलुकका लागि झनै घातक हुने चेतावनी दिनुभयो ।
कांग्रेसले सरकारको नेतृत्व गर्ने र मुलुकलाई चुनावमा लैजाने सुल्टो बाटो हुने भन्दै नेता कोइरालाले जसपाले नै सरकार नेतृत्व गरे पनि आफूलाई आपत्ति नहुने बताउनु भयो । पार्टी सभापति शेरबहादुर देउवा ओलीसंग नजिकिएको भन्दै जनताले शंकाको घेरामा राख्नु झनै विडम्वना भएको भन्दै उहाँले यसको जवाफ सभापतिले दिनुपर्ने स्पष्ट पार्नुभयो ।
साथै नेपाली कांग्रेसको महाधिवेशनको चर्चा परिचर्चा चलिरहँदा नेता कोइरालाले आफ्नो उम्मेदवारी पार्टी सभापति बाहेक अन्यमा नहुने स्पष्ट पार्नुभयो ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box