भारत र चीनको आठ महिनाअघि भएको भिडन्तमा चार चिनियाँ सेनाको मृत्यु भएको पहिलोपटक खुलासा

चीनले भारतको लद्दाख नजिकैको गलवान उपत्यकामा गतवर्षको जुन १५ मा भएको झडपमा आफ्नो सेनाको पनि मृत्यु भएको पुष्टि गरेको छ। सीजीटीएनमा प्रकाशित समाचार अनुसार भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेनाहरु चेन हङजुन, वाङ जुओरान, सिआवो सियुआन र चेन सियाङरोङ हुन्।
आठ महिनाअघि भएको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएको सार्वजनिक भए पनि चिनियाँ सैनिकको मृत्यु भएको जानकारी पहिलोपटक खुलासा गरिएको हो।
चीनको मुखपत्र ग्लोबल टाइम्सले सो झडपमा चार चिनियाँ सेनाको मृत्यु भएको जानकारी दिएको छ।
राष्ट्रिय स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षामा खटिएर भारतसँग लडेका ती सैनिकको गलवान भ्यालीमा ज्यान गएको ग्लोबल टाइम्समा उल्लेख गरिएको छ।
भारतका २० र चीनका चार सैनिकको ज्यान जानेगरी भारत र चीनबीच भएको यो भिडन्तलाई यी दुई छिमेकीबीच विगत ४५ वर्षमा भएको सबैभन्दा ठूलो सीमा तनाबका रुपमा लिइएको छ।
चीनले आफ्ना चार मात्र सेनाको मृत्यु भएको बताएपनि हालै भारतीय सेनाका लेफ्टिनेन्ट जनरल योगेश कुमार जोशीले सीएनएन न्युज १८ सँग गलवानको झडपमा ४५ चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेका थिए।
एलएसीमा भारत र चीनबीच हतियार प्रयोग गर्न नमिल्ने सहमति भएको छ। त्यहाँ बन्दुक प्रयोग गर्न मिल्दैन। त्यकारण त्यहाँ धक्कामुक्की हुँदै आएको छ।
तर गलवान उपत्यकामा गतवर्ष उनीहरुले रड, ढुंगा, तारले बेरिएको डन्ठाहरु प्रयोग गरेको पाइएको थियो।
भारत र चीनबीच लद्दाख, उत्तराखण्ड-हिमाचल तथा अरुणाचल गरी तीन क्षेत्रमा औपचारिक रुपमा सीमा निर्धारण गरिएको छैन।
जसमध्ये भारतको लद्दाखदेखि चीनको तिब्बत र सिनजियाङ बिचका ४ हजार ५७ किलोमिटरका क्षेत्रहरु पनि सिमांकन भएका छैनन्।
यो सिमांकन नभएको क्षेत्रलाई वास्तविक नियन्त्रण रेखा एलएसी भनिएको छ। त्यहाँ मात्र मौखिक सहमति भएको छ।
उनीहरुले आफ्नो क्षेत्र मौखिक रुपमा मात्र तोकेका कारण दोहोरिदै झडप हुने गरेको हो। -एजेन्सीहरु

Facebook Comments