भागरथिको हत्यारालाई यथाशीघ्र पत्ता लगाई कारवाही गर्न अनेमसंघ कास्कीको माग

पोखरा । अनेमसंघ कास्कीले बुधबार एक विज्ञप्ति प्रकाशित सुदुरपश्चिमको बैतडी जिल्लाको दोगडाकेदार ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको घटनाप्रति घोर विरोध गर्दै अपराधमा संलग्न अपराधीलाई कानुनी कारवाहीको लागि माग गरेको छ ।
अनेमसंघ कास्कीका कार्यवाहक अध्यक्ष सुशीला पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कक्षा १२ मा अध्ययनरत भागरथी विद्यालयबाट घर फर्कदा बीच बाटोमै हराई घरभन्दा झण्डै एक किलोमिटर टाढा पर्ने लबलेक सामुदायिक वनमा वनमाराको झाडीमा उनको सव फेला परेको घटना आफैमा शंकास्पद रहेकोले यस्तो गम्भीर तथा जघन्य अपराधको घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाई कानुन अनुसार कारवाही गर्न माग गरिएको छ ।
विज्ञप्ति मार्फत लामो समयको संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा ३९ अन्तर्गत बालबालिकाको हक शीर्षकमा १० वटा उपधारामा बालबालिकाको विकास, संरक्षण,सहभागिता लगायतको हकको प्रत्याभूति गरिएको अनेमसंघले एकपटक स्मरण गराउन चाहेको जनाएको छ ।
नेपालका बालबालिका भोलिका देश निर्माणका संवाहक भएकोले उनीहरुको बाँच्न पाउने अधिकारको संरक्षण सरोकारवाला सबै पक्षले गर्नु पर्ने बताउँदै सरकारले गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्दै हरेक बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न समेत नेपाल सरकारसँग माग गरिएको छ ।

Facebook Comments Box