फेसबुकबाट समाचार पढ्न र शेयरमा रोक

सिड्नी, बीबीसीका अनुसार बिहिबार बिहान अष्ट्रेलियनहरु उठ्दा स्थानीय र अन्तर्राष्ट्रिस सञ्चारमाध्यमका पेजहरु देख्न सकेनन् । बिहिबार केही स्वास्थ्य, आपतकालीन र अन्य पेजहरु पनि ब्लक गरिएको प्रयोगकर्ताहरुले पाए । तर पछि फेसबुकले गल्तीले समाचारबाहेकका पेजहरु पनि ब्लक भएको भन्दै समाचारबाहेकका अन्य पेज खुला गरेको छ ।

अष्ट्रेलियाली प्रयोगकर्ताहरुले फेसबुकबाट समाचार पढ्न र शेयर गर्न नपाउने भएका छन् । फेसबुकले अष्ट्रेलियामा रहेका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा समाचार पढ्न र शेयर गर्न रोक लगाएको हो ।
फेसबुकको यो निणर्य गुगलको नयाँ निणर्यसँगै आएको हो । गुगलले आफ्नो प्लेटफर्ममा समाचार समेट्नका लागि विशाल मिडिया कम्पनी न्यूज कर्पलाई रकम तिर्ने सहमति गरेसँगै फेसबुकले आफ्नो निणर्य सार्वजनिक गरेको छ ।
अब अष्ट्रेलियन समाचार प्रकाशकहरुले आफ्ना समाचारहरु फेसबुकमा शेयर गर्न नमिल्ने व्यवस्था फेसबुकले गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फेसबुकमा पोष्ट गरेका समाचारहरु पनि अष्ट्रेलियामा स्थानीय प्रयोगकर्ताले पढ्न र शेयर गर्न नपाउने भएका छन् ।
अष्ट्रेलियाबाहिरका प्रयोगकर्ताले अष्ट्रेलियन प्रकाशकबाट समाचार पढ्न नपाउने र अष्ट्रेलियाभित्रका प्रयोगकर्ताले बाहिरका प्रकाशकले पोष्ट गरेका समाचार नदेख्ने गरी फेसबुकले प्रणाली व्यवस्थित गरेको छ ।
फेसबुकका अष्ट्रेलिया र न्यूजील्याण्डका प्रबन्ध निर्देशक विलियम इस्टनका अनुसार अष्ट्रेलियाको प्रस्तावित कानुनले फेसबुक र प्रकाशकबीचको सम्बन्धलाई अपव्याख्या गरेपछि फेसबुक यस्तो निणर्य गर्न बाध्य भएको हो । तर, गुगल र फेसबुकले अष्ट्रेलियन प्रकाशकसँग आफैं रकम तिर्ने सम्झौता गरेमा नयाँ कानुन पारित गर्नमा रोक्न सकिने अष्ट्रेलियाका सांसदहरुले प्रतिक्रिया दिएका छन् ।

Facebook Comments Box