पोखरा म्याराथनका लागि पाँच लाख ३० हजार सहयोग, ह्विल चियर तथा दृष्टिविहीन दौडको तयारी पूरा, १० र ५ किलोमिटर दौडको रुट परिवर्तन

पोखरा । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने ‘पोखरा म्याराथन’ का लागि मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले रु पाँच लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले सहयोग हस्तान्तरण कार्यक्रममा सो रकम मञ्चका केन्द्रीय अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्नु भयो । पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताउँदै मञ्च कोषाध्यक्ष गुरुङले म्याराथनको सफलताका लागि सहयोग गर्दै आएको बताउनु भयो ।

मञ्चका अध्यक्ष गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनाकाबीच विदेशबाट सहयोग प्राप्त भएकामा खुःशी व्यक्त गर्नु भयोे । कोरोनापछिको असहज अवस्थामा पनि आफूहरुले गत फागुन १ गते ४२ किमीको म्याराथन र महिलाको २१ किमीको हाफ म्याराथन सम्पन्न गरेको जानकारी दिँदै उहाँले अन्य इभेन्टहरु क्रमशः यही फागुन २२ गते, आगामी चैत १४ गते र आगामी वैशाख ४ गते सञ्चालन गरिने जानकारी दिनु भयो ।

विगतमा सबै इभेन्टहरु एकैपटक सञ्चालन हुने गरेको तर यस वर्ष कोभिडका कारणले फरक फरक मितिमा तय गरिएको गुरुङले बताउनु भयो । अध्यक्ष गुरुङले सन् २०२४ सम्म पोखरा म्याराथनलाई म्याराथन दौडको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गर्ने लक्ष्य लिएको बताउँदै यसबाट पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयोे ।

पोखरा म्याराथन अन्तर्गत यही फागुन २२ गते शनिबार आयोजना हुने ‘ह्विल चियर’ महिला तथा पुरुष र दृष्टिविहिन महिला तथा पुरुष दौडको तयारी पूरा भएको मञ्चले जनाएको छ ।

सो दौडअन्तर्गत ह्विल चियर महिला पुरुषतर्फ १५ र दृष्टि विहिनतर्फ महिला १२, पुरुष ३३ जना गरी ४५ जनाले नाम दर्ता गरिसकेको मञ्चका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनु भयो । ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु ७ हजार, द्धितीयले रु ५ हजार र तृतीयले रु ३ हजार पुरस्कार पाउनेछन् ।

यसैगरी १० किमी महिला/पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र/छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । १० किमी महिला/पुरुष दौडमा विजेता रु १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

छात्र/छात्रा दौडमा प्रथमले रु १० हजार द्धितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने मञ्चका प्रमुख कार्यकारी अधिकृृत केशव पाठकले जानकारी दिनु भयो ।
त्यस्तै पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किलोमिटर महिला तथा पुरुष र ५ किलोमिटर छात्रा-छात्रा दौडको रुट परिवर्तन भएको मञ्चका अध्यक्ष गुरुङले जानकारी दिनु भयो । चैत्र १४ गते हुने १० किलोमिटर दौड पोखरा रंगशालाबाट शुरु भएर पृथ्वीचोक, मुस्ताङचोक, शहिद चोक, लेकसाइड हल्लनचोक, जरेवर, जिरो किमि, सृजनाचोक, सभागृह चोक, न्यूरोड हुँदै चिप्लेढुङ्गा स्थित मानवअधिकार चौतारमा पुगेर समापन गरिने मञ्चले जनाएको छ । त्यसै गरी २०७८ वैशाख ४ गते आयोजना हुने ५ किलोमिटर दौड पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह चोक, न्यूरोड, विपी चोक चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

Facebook Comments Box