पूर्व उपप्रधानमन्त्री सिंहले कास्की कालिकाचोकमा सम्बोधन गर्ने

पोखरा, संसद विघटन विरुद्ध नेपाली काँग्रेस, कास्कीले फागुन ३ गते पोखरा २६ कालिका चोकमा विरोधसभा गर्ने भएको छ । कास्की काँग्रेसको मंगलबारको बैठकले पोखराका विभिन्न पाँच स्थानबाट प्रदर्शनपछि कालिकाचोकमा प्रदर्शन गर्ने प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
विरोध सभाअघि वडा नं. १, २, ३, ४, ९, १६, १९ र २० का साथै माछापुच्छ्रे गाउँपालिकाको र्‍याली पार्टी कार्यालय चिप्लेढुंगाबाट निस्कनेछ । वडा नं. १८, २४, २५, १७, ५, ६, ७, ८, २१, २२, २३ र अन्नपूणर् गाउँपालिकाको र्‍याली पोखरा जिरोकिलोमिटरबाट सुरु हुनेछ । त्यस्तै, वडा नं. ११, १२, १३ र मादी गाउँपालिकाको र्‍याली मियाँपाटन, वडा नं. १०, १४ र १५ को र्‍याली अमरसिंहचोकबाट निस्कनेछ । साथै, पोखरा वडा नं. २७, २९, ३०, ३१, ३२, ३३ र रुपा गाउँपालिकाको र्‍याली अर्घौंचोकबाट सुरु हुनेछ । पोखरा २८ र २६ को र्‍याली सिधै कालिकाचोक पुग्नेछ ।
बैठकले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन पोखराका ३३ वटै वडामा जिल्लाका प्रतिनिधिहरु खटाएको छ । प्रतिनिधिहरुले आफ्नो जिम्मेवारीमा रहेका वडामा पुगेर प्रदर्शन केन्द्रित रहेर भेला तथा बैठक गर्नेछन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थालाई आन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन् । उनले विरोध कार्यक्रममा सहभागी हुन स्थानिय नेता, कार्यकता, नागरिक समाज, उद्योगी व्यवसायी तथा पार्टीका शुभेच्छुक, लोकतन्त्रवादीहरुलाई अनुरोध गरेका छन् ।
बिरोधसभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् ।

Facebook Comments